Skip to main content

कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि

Submitted by editor on
ईबिगुल संवाददाता
चैते धान उत्पादन

अत्तरियाः कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले गत वर्ष जिल्लामा पाँच हजार ७२० मेट्रिकटन चैते धान उत्पादन भएकामा यस वर्ष आठ हजार १०० मेट्रिकटन उत्पादन भएको जानकारी दिए। उनले भने, “गत वर्षको तुलनामा यस वर्ष चैते धानखेतीको क्षेत्रफल पनि बढेको छ । जसले गर्दा उत्पादनमा वृद्धि भएको हो।”

जिल्लामा गत वर्ष एक हजार १०० हेक्टर जग्गामा चैते धानखेती गरिएकामा यस वर्ष एक हजार ५०० हेक्टरमा खेती गरिएको उनले बताए। सूचना अधिकारी ओझाका अनुसार यस वर्ष चैते धानको उत्पादकत्वसमेत वृद्धि भएको छ। गत वर्ष चैते धानको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष पाँच दशमलव चार मेट्रिकटन प्रतिहेक्टर पुगेको हो।

सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धानखेती गर्ने गरिएको बताउँदै उनले जिल्लाका अति डुबान प्रभावित हुने अन्य क्षेत्रका किसानले चैत धानखेती गर्दै आएका उललेख गरे। चैते धानखेतीका लागि किसानलाई ५० प्रतिशत अनुदानमा ज्ञान केन्द्रले यन्त्र उपकरण, बीउ, विषादीलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको सूचना अधिकारी ओझाले बताए।