धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि कैलालीका दुईजनाको उमेदवारी परेको छ । नेपाली काँग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डँगौरा थारुको उमेदवारी परेको हो ।
नेपाली काँग्रेसबाट जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएका पदम बहादुर कलेलको २०७९ सालको पुस २३ गते निधन भएपछि सो पदमा उप निर्वाचन हुन लागेको हो ।
सत्ता गठबन्धनमा रहेको काँग्रेस र एमालेले चुनावमा तालमेल गरेका छन । एमालेले काँग्रेसकी भुललाई मतदान गर्ने भएको छ । भुल कैलारी गाउपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा विजयी हुन ।
भुलको समर्थकमा कैलारी गाउपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका छन भने उनको समर्थकमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रहेका छन ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट पनि रुपमती डँगौरा थारुले मनोनयन दर्ता गराएकी छिन । उनको प्रस्तावकमा रेखादेबी कठरिया रहेकी छिन भने समर्थकमा राजु तिरुवा रहेका छन । कठरिया टीकापुर नगरपालिका वडा नम्बर ४ बाट महिला वडा सदस्यमा विजयी हुन ।
१३ वटा स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा २६ मत भार हो । अहिले एमाले र काँग्रेस गठबन्धनसँग १३ मतभार छ । नाउपासँग ७, नेकपा माओवादीसँग ३ (टीकापुरको उपमेयर निलम्बीत), समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ ।
नाउपालाई माओवादी र समाजवादीले मतदान गरेपनि उसको ११ मत मात्रै पुगिरहेको छ । काँग्रेस ८ र एमाले ५ मतभारका साथमा १३ मतभार ल्याएर विजयी हुने देखिन्छ । आईतबार दिनभरी काँग्रेस र एमालेले नाउपालाई समर्थनका लागि अग्रह गरेपनि उसले नमानेपछि मनोनयन दर्ता गरिएको हो ।