धनगढी : मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन् । सुदूरपश्चिममा जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदका लागि निर्वाचन हुँदैछ ।
एमालेले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीलाई अघि सारेको छ । बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि लखीचन्द बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाएको हो ।
नेपाली काँग्रेसले स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ । सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि वीरेन्द्र पुजारा, पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि मोहनबहादुर थापा, दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि धनबहादुर कुँवर र भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि प्रकाशबहादुर चन्दलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
यस्तै माओवादी केन्द्रले स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा राजुकुमारी विकलाई उम्मेदवार बनाएको छ । सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि पुष्करबहादुर बोहरा, पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवीलाल थापा, दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि नानाराम कोलीलाई उम्मेदवार बनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले पनि सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि जेनिशा बोहरालाई उम्मेदवार बनाइएको छ भने भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हरिष डगौरालाई उम्मेदवार बनाइएको छ । जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि कांग्रेसले टीका चौधरी भुललाई उम्मेदवार बनाएको छ ।
यसअघि बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले जिसस कैलाली प्रमुखको उम्मेदवारको लागि धनगढी उपमहानगरपालिका–२ का वडासदस्य केशवराज पन्त लाई बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले जुनसुकै स्थानीय तहको प्रमुख पदमा पुरुष भए उपप्रमुख महिला अनिवार्य अर्थात पुरुष उपप्रमुख रहेको ठाउँमा महिला प्रमुख अनिवार्य भन्ने परिपत्र गरेपछि कांग्रेसले सो निर्णय गरेको हो ।
उनी कैलारी गाउँपालिका–२ का वडासदस्य हुन् । त्यस्तै, नागरिक उन्मुक्तिले रुपमति डंगौरा थारुलाई उम्मेदवार बनाएको छ । उनी टीकापुर नगरपालिका–४ की महिला वडासदस्य हुन् । १३ स्थानीय तह रहेको कैलाली जिससमा कुल मतभार २६ छ । कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ ।