Skip to main content

सीआईबीद्वारा इन्सपेक्टर विनु शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस

Submitted by editor on
ईबिगुल संवाददाता
विनुकुमारी शाही

काठमाडौं : प्रहरी प्रभाग भैँसेपाटीकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले हनिट्रयाप प्रकरण मुद्दाको अनुसन्धान सकेर मंगलबार जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा प्रतिवेदन बुझाएको जानकारी दिए । 

युवतीलाई गलत प्रयोग गरेर विराटनगरका एक व्यापारीलाई फसाउने धम्की दिएर उनीबाट ३० लाख असुलेको आरोप इन्सपेक्टर शाहीमाथि छ । मुद्दा चलाउन सिफारिस गरिएका ६ जनामध्ये शाही र दर्शन पोखरेल फरार रहेका छन् । 

यसअघि नै पक्राउ परेका भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापाविरुद्ध पनि संगठित अपराध र आपराधिक लाभ कसुरमा मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको हो । 

उक्त मुद्दामा संलग्न भनिएका तत्कालीन जिल्ला प्रहरी परिसरका एसपी कमल थापाको संलग्नता भेटिएको छैन । सीआईबी प्रबक्ता बोगटी भने, ‘उक्त मुद्दाको अनुसन्धान गर्ने क्रममा एसपी थापाको संलग्नता पुष्टि भएको छैन । अनुसन्धानका क्रममा उहाँलाई ल्याएर बयान लिएर ठाडो कागज गरेका छौं । अहिलेसम्मको अनुसन्धानमा उहाँको संलग्नता खुलेको छैन । बयानका क्रममा एसपी थापाले भैसेंपाटी घटनामा आफ्नो संलग्नता अस्विकार गरेका छन् ।’

एसपी थापाले आरोपीहरुलाई पहिलेदेखि नै चिनेको हुनाले कहिलेकाँही व्यावसायिक फोन सम्पर्क हुने गरेको बताएका थिए । सीआईबीसँगको बयानमा एसपी थापाले व्यावसायिक चिनजान र फोन कन्ट्याकलाई अपराधसँग जोड्न नमिल्ने जिकिर गरे । 

वोगटीले भने, ‘एसपी थापा संलग्न हुने कुनै कागजात र आधार प्रमाण अहिलेसम्म सीआईबीले फेला पार्न सकेको छैन । घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै सीआईबीले थप अनुसन्धान गरेको थियो ।’

अहिले प्रतिवादी बनाउन सिफारिस गरिएकामध्ये इन्सपेक्टर शाही र दर्शन पोखरेल छन् । प्रहरी प्रतिवेदन अनुसार सहायक हवलदार हमालले व्यवसायीबाट असुल गरिएको रकम बैंकमा जम्मा गर्न लगाएको आरोप छ । बोगटीका अनुसार यस घटनाको मुख्य योजनाकारमा अहिले प्रहरी हिरासतमा रहेकी सुस्मा विक र ताज स्लाम रहेका छन् । 

सुनसरीकै एक होटलमा वेटरको काम गर्दै आएकी सुस्मा त्यहाँ आउने एक व्यवसायीसँग नजिकिएकी थिइन् । उनीहरुको सम्बन्ध थाहा पाएका अन्य व्यक्तिले सुस्मालाई प्रयोग गरेर यो घटना घटाएको प्रहरीको निष्कर्ष छ ।

घटना के भएको थियो ?

इन्सपेक्टर शाहीले विराटनगरका ति व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लिएको आरोप लागेको हो ।  बलात्कारको उजुरी दिने युवतीसँग मिलेमतोमा इन्सपेक्टर शाहीले आर्थिक हिनामिना गरेको अनुमान छ । व्यापारीलाई शान्ति सुरक्षा सम्बन्धी कसुरमा पक्राउ गरी बलात्कार मुद्दामा फसाउने धम्की दिएर पैसा असुल गरिएको थियो ।

बलात्कार मुद्दामा फस्ने डरले व्यापारीले ति युवतीको साथीको नाममा २० लाख नगद जम्मा गरेको र १० लाखको चेक दिएको बुझिएको छ । युवतीले सुरुमा ६० लाखको माग गरेकी थिइन् । 

व्यापारीको गाडीसमेत प्रहरी प्रभागमा तानेर छाड्ने बेलामा थप डेढ लाख रुपैयाँ लिएको आरोप छ । गत असोज ७ गते विराटनगरका व्यापारीलाई पक्राउ गरी प्रहरी कार्यालय भित्रनै आर्थिक बार्गेनिङ गरेको उजुरी परेको छ । व्यापारीले रकम बुझाएपछि उनलाई छाडिएको थियो । 

प्रहरीका अनुसार ति व्यापारी र युवतीबीच सुनसरीमै चिनजान भएको थियो । युवतीले आफुलाई भेट्न भन्दै व्यापारीलाई भैसेपाटीमा बोलाएकी थिइन् । युवती भेट्न आएका व्यापारीलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रभाग भैसेपाटीमा पु¥याएको थियो ।

प्रहरी जवान कुटेर विवादमा तानिएकी थिइन् इन्सपेक्टर शाही 
गत माघमा पूर्वप्रहरी जवान राजेन्द्र नाथले कन्चनपुरकी तत्कालीन इन्सपेक्टर शाहीबाट यातना पाएर जागिर छाड्न बाध्य भएको बताएका थिए । पुर्वप्रहरी राजेन्द्र नाथले एक महिना बिदा थप गर्न इन्सपेक्टर शाहीसँग जाँदा उनले कुटपिट गरेर पक्राउ गरी ३ दिन थुनेको बताएका थिए । पक्राउ पुर्जी नभइ हिरासतमा राखेर यातना दिएको विषयमा समाचार बाहिरिएको थियो । समाचार लेख्ने २ जना पत्रकारलाई समेत शाहीले पक्राउ गरेर थुनाएकी थिइन् ।