काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले चीन भ्रमणका क्रममा देशको हित र विकासका पक्षमा काम गर्न सुझाव दिएका छन ।
सोमबार बिहान सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलपछि उनले देशको हित र विकासको पक्षमा छलफल गर्न सुझाव दिएको बताएका हुन् ।
उनले भने, ‘देशको हितमा ध्यानमा राखेर छिमेकीहरूका मनमा कुनै किसिमका शंका छन् भने, प्रश्नहरू छन् भने, त्यसलाई ध्यानमा राखेर उहाँहरूको संवेदनशीलतालाई पनि बुझ्नुपर्छ । तर, विश्वास के गर्नुपर्छ भने नेपाल असंलग्न परराष्ट्र नीतिमा उभिन्छ । कुनै पनि छिमेकी मुलुकका विरुद्धमा नेपालको भूमि प्रयोग गर्न दिइँदैन । यस अर्थमा हामी संसारका सबै देशहरुसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं । नेपाल एउटा शान्ति भूमि हो । यो शान्ति भूमि हो भन्ने कुरा ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं ।’
उनले बीआरआई परियोजना राष्ट्रको हितमा रहेको भन्दै यसलाई स्वीकार गर्नुपर्ने बताए । ‘बीआरआईको बारेमा स्वभाविक रुपमा स्वीकार गर्दै आएको हो । स्वीकार गरिन्छ । बीआरआई नेपालको हितको विरुद्धमा छैन । नेपालजस्तो देशले लाभ लिनुपर्छ । लाभ लिने कुरामा सबैसँग समधुर सम्बन्ध राखेका छौं । बीआरआईलाई अघि बढाउनुपर्छ ।’
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । भ्रमणलाई उपलब्धीमूलक बनाउने तयारीस्वरुप प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग आज छलफल गरेका थिए ।