तपाईंको दिनचर्या अचेल कस्तो छ ?
दिउँसो कार्यालयको समय नबिग्रियोस् भनेर हामी बिहानको समयमा बैठक गछौँ । विभागीय बैठक हुन् वा विभिन्न अतिथि–संघसंस्थासँगका । कतिपय कुराहरु चाहिँ दिउँसो नै गर्नुपर्ने हुन्छ । दिउँसो कार्यालयका नियमित कामहरू, विकास निमार्णका कामहरू हुन्छन् । भेट्न आउने सेवाग्राहीलाई भेट्ने, उहाँहरूको कुरा सुनेर सक्ने सम्बोधन गर्ने ।
स्वतन्त्र मेयरहरूलाई काम गर्न असजिलो छ भन्ने सुन्ने गर्छौँ । तपाईं स्वतन्त्र मेयर, अनुभव के छ ?
‘हामी किनारका दुई किनारा, हाम्रो मिलन असम्भव छौँ ।’ भन्ने गीत जस्तै, उत्तर र दक्षिण ध्रुव भन्या जस्तै छ । हाम्रो प्राथमिकता फरक छ । राजनीतिक पार्टीबाट आउनुभएको जनप्रतिनिधिहरू पार्टीको निर्देशन अनुसार हिँड्नुपर्ने हुन्छ । उहाँहरू त्यो हिसाबले दीक्षित हुनुहुन्छ । म आफ्नो कुरा गर्छु । मेरो त कार्यकर्ता पनि छैन । पार्टी पनि छैन ।
मैले हेर्ने भनेको धनगढीको जनतालाई के गर्दा फाइदा हुन्छ ? अरु जनप्रतिनिधिले हेर्दा हाम्रो पार्टीलाई के फाइदा हुन्छ ? हाम्रो कार्यकर्तालाई के फाइदा हुन्छ ? स्पष्ट विभाजन यहीँबाट सुरु हुन्छख्। अरु ठूलो कुरा केही हैन । यही सोचबाट हाम्रा प्राथमिकताहरू अलग–अलग देखिन्छन् र द्वन्द्व सिर्जना हुन्छ ।
यो द्वन्द्वलाई तपाईंले कसरी व्यवस्थापन गर्दै आउनु भएको छ?
विषयहरूलाई जनताको बिचमा ल्याएपछि जनता आफैँ बोल्न थाल्छन । जस्तो, हाम्रो धनगढीमा विपन्न परिवारले शव जलाउन दाउरा किन्ने पैसा नभएपछि टायर बालेर शव जलाउँदै आएका थिए । हामीले टायर जलाएर धनगढीको नागरिकको शव जलाउन नपरोस् भनेर दाह–संस्कार खर्च शीर्षक कायम गर्यौँ । र, मृत्युको खबरको फोन आउन बित्तिकै हामी नगद घरमानै लगेर दिन्छौं । हाम्रा कर्मचारीले पाँच हजार घरमा नै पु¥याउँछन् । सो सेवाको लागि कुनै झन्झट हुँदैन । अब यस्ता कुराहरूको कसरी विरोध गर्न मिल्यो त ?
तपाईं बाहेक विशेषत : धरान, काठमाडौँमा पनि स्वतन्त्र मेयर हुनुहुन्छ । यहाँ कार्यपालिका बैठकमा नै मत बाझिएको कुरा आउँछ । तर, तपाईंको कार्यकालमा त्यस्तो कुरा आउँदैन, किन होला ?
मलाई नबोलाई एउटा होटलमा हाम्रो धनगढीको कार्यपालिका बैठक नै अलग बस्यो । जेष्ठ सदस्यको अध्यक्षमा सबै सदस्य मिलेर यसरी बैठक बस्यो । र नगरपालिकाको अघिल्ला निर्णय नमान्ने निर्णय गर्यो । तर, यो कानुनी रुपमा त मिल्दैन । बैठक, नगरसभा बोलाउने अधिकार त मेयरलाई छ । हाम्रोमा पनि समस्या भएको छ । जनदबाब महत्त्वपूर्ण छ । यसले नै मलाई सजिलो भएको छ ।
तपाईं मेयर भएको तीस महिना भएको छ । देशमा अरु स्वतन्त्र मेयर वा जनप्रतिनिधि पनि छन । उहाँहरूसँग तपाईंले औपचारिक, अनौपचारिक भेट वा छलफल गर्नुभएको छ ?
म मेयर भएपछि धेरैले सोध्थे ।
बालेन र हर्कसँग तपाईँको सम्पर्क छ कि छैन?
चुनाव जितेपछि मैले बालेनजीलाई एक पटक १५ मिनेट भेटेँ । राष्ट्रिय सभागृह, जहाँ मेरा कार्यालयका कर्मचारी साथीहरू पनि हुनुहुन्थ्यो । हर्कजीलाई एकदिन मैले मन्त्रालयमा भेटेँ । म झर्दै थिएँ, उहाँ उक्लँदै हुनुहुन्थो । उहाँले त फोन र म्यासेजको रिप्लाइ पनि नदिनुहुँदो रहेछ ।
तपाईँलाई के लाग्छ, राजनीतिक दलबाट आएका जनप्रतिनिधिले राम्रो काम गर्नुभएको होला ?
राम्रो काम गर्ने हुनुहुन्छ । म ललितपुर नगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सम्झन्छु । उहाँ आफूले जानेको कुरा अरुलाई पनि बताउनु हुन्छ । असाध्यै राम्रो काम गर्नुभएको छ । अरुले नि काम गर्नुभएको छ । एउटै समस्या के हो भने दलबाट आएका मान्छेलाई पार्टीको जुन दबाब हुन्छ नि, त्यो सबैले खप्न सक्दैन । दलबाट आएकालाई भोलि टिकट त्यही दल र नेताहरूसँग माग्न जानुपर्छ । उसले स्वतन्त्र रुपमा काम गर्न सक्दैन । स्वतन्त्रहरू त्यो जन्जालबाट मुक्त छौँ ।
स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई संघीय सरकारबाट सहयोग छ ?
जुन परिकल्पनाले स्थानीय तह खडा भयो । यो त सरकार हो नि केन्द्र, प्रदेश र स्थानीयसहित तीन सरकार हाम्रो संविधानले परिकल्पना गरेको छ । अहिले पनि उहाँहरूको दिमागमा सरकार हैन, तह वा कार्यालय मात्र हो भन्ने सोच छ । हामीलाई स्वायत्तता दिइसकेपछि अंकुश लगाउन त भएन नि हामीले पठाएका योजनाहरू आउँदैनन् । हाम्रो प्राथमिकतामा नभएको योजना मात्र आउँछ ।
तपाईंले चुनावमा भ्रष्ट राजनीतिलाई कल्याणकारी बनाउने भन्नुभएको थियो ? अहिले त्यो नाराबाट के–के हासिल गर्नुभयो त ?
हाम्रो नगरका नागरिकले रगत आवश्यक प¥यो भने पैसा तिर्नुपर्दैन । मृत्यु हुदाँ दाहसंस्कार खर्च पाँच हजार दिएका छौँ । नागरिकको स्वास्थ्य हेरेर निःशुल्क एम्बुलेन्स, स्वास्थ्य शिविर, अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री दिने गरेका छौँ । विशेषज्ञ वडा क्लिनिक पनि सञ्चालनमा छ । ‘हरघडी नगरप्रहरी’ नारासहित काम भइरहेको छ । जेष्ठ नागरिकलाई प्रत्येक वर्ष मुक्तिनाथ लगायतका ठाउँमा धार्मिक भ्रमण गराएका छौँ । शव सुरक्षित राख्ने चिस्यान नगरपालिकाले सञ्चालन गरेको छ । दुःख पर्दा नगरपालिका छ भन्ने महसुस जनतामा भएको छ जस्तो लाग्छ । हामीले आवश्यकताको आधारमा विकास योजना अघि बढाउन प्रोजेक्ट बैंक लागू गरेका छौँ ।
अहिले फोहोर सबै स्थानीय तहलाई समस्याको विषय बनेको छ । तर तपाईँकोमा यो समस्या देखिन्न नि ?
हामीले फोहोरलाई वर्गिकृत गरेर उठाउने गर्छोैँ । फोहोर नगर्ने बानी र जनचेतनाको विकास गराउनु महत्वपूर्ण विषय रहेछ । हामीले स्कुलका विद्यार्थीसहित समुदायहरूमा यो कुरा गरिरहेका छौँ । उहाँहहरूले नै धनगढीलाई सफा गरिरहनुभएको छ । डेढ लाख मानिस यसमा आबद्ध छन् । हामीले एउटा स्कुललाई ५ सय मिटरको घेरामा सरसफाइ र सचेतनाको जिम्मा दिएका छौँ । सरकारी र निजी स्कुललाई प्रोत्साहन गर्दै पाँच–पाँच लाखको उपहार सहित ट्रफी राखेका छौँ।
समुदायमा पनि पहिलो हुनेलाई १० लाख उपहार राखेका छौँ । विजेता हुनलाई विभिन्न सूचक बनाएका छौँ । कुनै पनि सहर फोहोर सफा गरेर सफा भएका हैनन् । फोहोर नगरेर सफा भएका हुन् । फोहोर नगरे सफा हुन्छ, फोहोर गर्नुहुन्न भन्ने सचेतना फैलाउन सक्नुपर्छ भन्ने लाग्छ । नगरमा प्लास्टिक र प्लास्टिकका मालाहरू निषेध गरेका छौँ । गुट्खा निषेध भएपछि सहर सफा गराउन यसले धेरै मद्दत गरेको छ ।
धनगढीमा तपाईँले सुरु गरेका कामहरू कार्यकाल सकिएपछि पनि निरन्तरता पाउलान ?
हामी तोक लगाउने सिस्टममा छैनौँ । सबै कुरा सेवामा जोडेका छौँ । अब आउनेले नयाँ कुरा केही नगर्ला तर अहिलेका कार्यक्रम बन्द गर्ने साहस नगर्ला ।
मेयरको कार्यकालपछि के सोच छ ?
अहिलेसम्म त्यस्तो कुनै विचार छैन । कसैसँग संवाद पनि भएको छैन । व्यक्तिगत रुपमा शुभेन्छुकहरू तपाईँ अर्को पटक चुनाव लड्नु भन्नु हुन्छ । कसैले सुदूरपश्चिमको विकास गर्ने हो भने सुदूरपश्चिम केन्द्रित पार्टी खोल्नुपर्छ भन्ने सल्लाह सुझाव पनि दिनुभएको छ । यस्ता कुरा आइरहन्छन् । अझै २ वर्ष बाँकी छ । यो समयमा कस्तो परिस्थिति सिर्जना हुन्छ । मलाई अरु केही समस्या छैन । म व्यावसायिक मान्छे भएकाले आफ्नो रुटिनअनुसार हिँडेको बानी भयो । अब जनताको रुटिन अनुसार हिँड्नुपर्छ ।
केही शारीरिक समस्या पनि छन् । प्रेसरको औषधि खाइरहेको छु । घरपरिवारबाट त यता नलागौँ भन्ने कुरा छ । उनीहरू राजनीतिक बेकार हो भन्न थालिसकेका छन् । हाम्रो परिवार राजनीतिक परिवार पनि हैन । मलाई जनताले सहयोग गर्नुभएको छ सडक बढाउँदा होस् वा वृक्षारोपणको काम गर्दा । राजनीति पेशा भयो भने भ्रष्टाचार हुन्छ, भ्रष्टाचार भयो सुशासन हुँदैन ।
सुशासन भएन भने देश बन्दैन भन्ने मूल मन्त्रसहित राजनीतिमा होमिएको हुँ । म सेवा सुविधा लिन्न, लिएको पनि बाँड्छु । मैले यो देशलाई पाँच वर्ष समर्पण गर्छु भनेर आएको हुँ । पाँच वर्ष स्वयंसेवक बनेर बस्छु भनेर आएको हुँ । जनतालाई भनेको कुरा यही हो । अब परिस्थिति कस्तो सिर्जना हुन्छ । भविष्यको विषयमा आंकलन नगरौँ । नागरिक स्वतन्त्र अभियानमा भने सुदूरपश्चिममा लाग्छु ।
बालेन, हर्क, गोपी मिलेर दल खोल्नुपर्छ भन्ने कुरा सामाजिक सञ्जालनमा आउँछ नि ?
विसं २०८४ मा देशको अनुहार फेर्न स्वतन्त्र नागरिकहरूको आवश्यक छ ।
साभारः कान्तिपुरबाट