काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ । जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो । हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित हात पारेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको जनकपुरले १२८ रनको मध्यम लक्ष्य पाएको थियो । विराटनगरले दिएको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । १२८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरका लागि तेस्रो क्रमका ब्याटर लाहिरु मिलान्थाले ११६रनको शतकीय साझेदारी गरे ।
मिलान्थाले ७५ रन रउनको साथ हर्ष थाकरले २९ रन बनाए । लाहिरुले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका हुन् । थाकरले भने ३३ बलमा २ चौकासहित २९ रन बनाएका हुन् ।
ओपनरद्वय सस्तैमा समेटिए पनि जनकपुरका दुई ब्याटरको उत्कृष्ट प्रदर्शनले खेल एकतर्फी रूपमा सकियो । विराटनगरका लागि प्रतिश जिसी र क्रिस सोलले १÷१ विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा अलआउट हुँदै १२७ रन मात्रै जोडेको थियो । विराटनगरको लागि मार्टिन गप्टेलले सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे । उनले ३६ बलमा ७ चौका र १ छक्का सहित अर्धशतक पूरा गरेका हुन् । उनले १३ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का हान्दै अर्धशतक पूरा गरेका थिए ।
उनीबाहेक अकिव इलियासले मात्रै दोहोरो अंकमा रन बनाए । उनले १८ बलमा १ चौका सहित १५ रन बनाएर एलबीडब्ल्यु आउट भए। उनलाई मोहम्मद मोसिनले एलबीडब्ल्यु आउट गरे । त्यसबाहेक अन्य कुनै खेलाडीको ब्याटिङ नचल्दा विराटनगर १२७ मा नै रोकियो।
जनकपुरका लागि ललित राजवंशी ३, हर्ष थाकर र किशोर महतोले समान २÷२ र मोहम्मद मोसिन र बेन माइकले १÷१ विकेट लिए।
सोमबार दुई खेल हुनेछ ।
सोमबार पहिलो खेल काठमाडौं गुर्खाज र चितवन राइनोजबीच हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।