धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षका सेते रावत निःशुल्क उपचार पाएपछि खुसी हुदै घर फर्किका छन । धनगढीको स्वस्तिक अस्पतालले उनको उपचारमा लागेको ४२ हजार रकम मिनाहा गरि दिएपछि उनी खुसी हुदै घर फर्किएका हुन ।
सेतेलाई लामो समयदेखि सुगरको समस्या थियो । सुगरले खुट्टामा क्यान्सर भएपछि उनले ८ वर्ष अघि भरतपुर क्यान्सर अस्पतालमा घुँडामुनीको दायाँ खुट्टा काटनु परेको थियो । त्यसपछि पनि उनको सुगर रोग निको भएन । गत असोजमा स्वस्तिक अस्पतालमै उनको बाँया खुट्टा पनि काटनु परेको थियो ।
सुगरकै कारण घुँडामुनीका दुुबै खुट्टा गुमाएका सेतेलाई त्यसपछि पनि सञ्चो भएन । उनको सोमबार स्वस्तिक अस्पतालमै काटिएको बाँया खुट्टाको पुनः सल्यक्रिया गरिएको हो । सल्यक्रियाका लागि लागेको औषधी, प्रयोगशाला शुल्क र शैया शुल्क सहितको ४२ हजार रकम मिनाहा गरिदिएको अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले जानकारी दिए ।
सेतेले यसअघि आफ्नो उपचारका लागि पहलमानपुरमा रहेको एक कट्ठा नम्बरी र डेढ कट्टा ऐलानी जग्गा विक्रि गरिसकेको बताए । ‘बालिग भईसकेका २ छोरा भारततिर छन । उनीहरु घरमा न खर्च पठाउछन, न उपचार नै गर्न आउछन । २ वर्षको सानो बाबु र श्रीमती घरमा छन । आफ्ना दुबै खुट्टा काटिसकेको छु । आर्थिक समस्या थियो, अस्पताललाई अनुरोध गरे, सबै उपचार शुल्क मिनाहा गरिदियो’ खुसी हुदै सेतेले भने ।
सेतेको उपचारमा उनको फुपुका छोरा राम राना कुरुवा भएर आएका थिए । राम भन्छन, ‘सन्तान भएर पनि के गर्नु ? दुई छोरा भारततिर छन, बुवाको उपचारमा यस्तो समस्या भएको छ । धनगढीमा विहे गरेकी छोरीले भने सकेको सहयोग गरिरहेकि छिन’ रानाले भने ।