पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । जोशीको बयान सकिएलगत्तै लिला पछाईंको बयान सुरू भएको छ । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जोशीको बयान सकिने वित्तिकै पछाईंको बयान सुरू भएको जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।
जोशीको सोमबार साढे दुई घण्टा बयान लिइएको थियो । आज दिउँसो उनको बयान सकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँचजना प्रतिवादीको सोमबारदेखि जिल्ला अदालत कास्कीमा बयान सुरू भएको हो ।
रविसहित पाँचजनालाई अदालत उपस्थित गराइए पनि सोमबार जोशीको बयान लिइएको थियो । पछाईको बयान सकिएपछि अब रवि लामिछानेको बयान हुने जनाइएको छ ।
बयानका लागि लामिछाने,जोशी,लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको छ। अर्का आरोपित कृष्ण गुरूङ भने बिरामी परेकाले अदालतमा उपस्थित हुन सकेनन् ।
पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य सोमबार जोशीबाट सुरु भएको थियो ।
सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।
यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ। पछाई र खनालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।
सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सूर्यदर्शन सहकारी ठगीको मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।