बझाङ : बझाङको जयपृथ्वी राजमार्गबाट आधा घण्टाको दुरीमा छ केदारस्युँ गाउँपालिका –१ डुडिल गाउँ । डुडिलकी खीना बोहरालाई आइतबार दिउँसोदेखि सुत्केरी ब्यथाले च्याप्न थाल्यो । घरमा सासु एक आँखाले देख्छिन् भने ससुरा दुबै आँखा गुमाएका दृष्टिबिहीन छन् ।
नन्दहरु भए पनि सानै उमेरका छन् । खीनाले बिहे गरेको करिब एक वर्ष भयो । उनका श्रीमान् उमेश बोहराले बिहे गरेको चार महिनामै उनलाई छोडेर भारत गएका थिए । उमेश रोजगारीका लागि भारत गएको ८ महिना बित्यो फर्किएका छैनन् । आइतबार दिउँसोबाट सुत्केरी ब्यथाले च्यापेकी खीनाकी सासु पुनादेबी महिनाबारी भएका कारण घर बाहिर थिइन् । सासु पुनीदेवीले खीनालाई बेला बेला गारोसारो सोधिरहन्थिन् तर खीनालाई राति झन् झन् प्रसव पिडा हुन थालेपछि सासुलाई खबर गरिन् ।
राति २ बजेको समय भएकाले सामान्य होला भन्दै खीनाका सासु र नन्दहरु बिहान उज्यालोका लागि पर्खि बसे । प्रसुव ब्यथाले थप च्यापेपछि बिहान ४ बजे उनलाई घरबाट केदारस्युँ १ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रका लागि घरबाट हिँडाईयो । गाउँमा स्ट्रेचर नभएपछि उनलाई हिडाउनपर्ने बाध्यता थियो ।
गाउँका दुई जना युवा, सासु ससुरा, गाउँको तीन जना महिला र नन्दहरु साथमा थिए । घरबाट सामान्य मानिसले हिड्दा करिब १५ मिनेट लाग्ने भट्टे भन्ने ठाउँमा उनले बिहान ४ः३० बजे छोरालाई जन्म दिइन् । उनले जन्माएको शिशु रुने कराउने कुनै संकेत नभएको स्थिर जन्मियो । छोरा जन्मिएपछि खिनाको नन्द र फुपु वडा सदस्य पदमप्रसाद भट्टको घरमा हँसिया र पानी माग्न पुगे ।
वडा सदस्य भट्टले सोधपुछ गर्दा खीनाले छोरा जन्माएकाले हँसिया र पानी माग्न आएको थाहा पाए । त्यसैबेला वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब कमल कुमार मल्ललाई खबर गरि एम्बुलेन्स बोलाए । आफू पनि खीना सुत्केरी भएको स्थल तर्फ हिडे ।
वडासदस्य भट्टत्यहाँ पुग्नसम्म पुग्दा खीना र नवजात शिशु दुबैको मृत्यु भइसकेको थियो । सुत्केरी भएको एक घण्टासम्म बच्चातिर हेरेकी खीनाको रक्तश्राव भएको र बच्चाको पनि गर्भबाटै स्वास्थ्य अवस्था ठिक नभएको हुँदा ज्यान गएको रायल प्राथमिक स्वास्थ्य केन्द्रका सियिर अहेब कमल कुमार मल्ले बताए ।
‘बिहान करिब ६ः३० बजे चिकित्सकहरुसहित एम्बुलेन्स खीना सुत्केरी भएको स्थल नजीकैको सडकमा आइपुगेको थियो । म र अनमी जानकी कुमारी भण्डारी लगायतको स्वास्थ्यकर्मीले चेकजाँच गर्दा पनि आमा र शिसु दुबैले प्राण त्यागी सकेका थिए । हामीलाई राति जतिबेला फोन गरे पनि जान सकिन्थ्यो । तर कुनै खबर नभएकाले आमा र शिशुको ज्यान गयो’ घटनाप्रति दुख प्रकट गर्दै सिनियर अहेब मल्लले भने ।
‘छोरा जन्माएको खुशी साट्दै बुहारीले मेरो काखीमा अडेस लगाएकी हो । हामी पनि खुशी थियौं तर कुरा गर्दागर्दै रगत धेरै बग्यो । केहीबेरमै बुहारीले बोल्न छाडिन’ खीनाकी सासु पुनीदेवीलाई उदृत गर्दै वडा सदस्य भट्टले भने । ‘शिशुले खीनाको काखमा प्राण त्याग्यो, खीनाले सासुको काखमा ।’
‘गाउँमा अटो पनि चल्छ, सडक पनि छ तर स्ट्रेचर छैन । खीनाका परिवारले आफूलाई खबर नगर्दा यो अवस्था आएको हो’ वडा सदस्य भट्टले भने । सिनियर अहेब कमल कुमार मल्ल पनि गाउँमा सामान्य हिसाबले सुत्केरी भइहाल्छन् भन्ने उद्देश्यले पनि स्वास्थ्य संस्थामा नलैजाने गरेको बताउँछन् ।
केदारस्युँ गाउँपालिका सडक सञ्जालले छोए पनि नागरिकमा अझैं जनचेतना नभएको गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहरा स्वीकार्छन् । खीनाजस्तै समयमै उपचार नपाएर धेरै आमा र शिशुको ज्यान गएको र अब यी कुरामा संवेदनशिल हुनपर्ने केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिसा धामीको भनाई छ ।