धनगढी ः कैलालीको फुलवारीमा आयोजना गरिएको माघी महोत्सव तथा फुटबल प्रतियोगिता वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन । हरेक वर्ष माघीका दिन आयोजना गरिने महोत्सवको मंगलबार एक कार्यक्रमका बीच मन्त्री भण्डारीले उद्घाटन गरेका हुन ।
महोत्सव उद्घाटनका क्रममा बोल्दै मन्त्री भण्डारीले सुदूरपश्चिम कलासंस्कृती चाडपर्वका लागि विविधता भएको प्रदेश भएको बताए । ‘तराईमा थारु समुदायले नयाँ वर्ष तथा माघी मनाईरहेका बेला पहाडि समुदायले माघे सक्रान्ती मनाईरहेको छ । माघीमा पनि बझाङी समुदायको नाचको प्रर्दशन भयो, यो हाम्रो समाजको सुन्दर विविधता हो’ उनले भने ।
स्थानीय युवा प्रदिप चौधरीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा एमालेका स्थाई कमिटि सदस्य नारदमूनी राना, प्रदेश सभा सदस्य धर्मराज पाठक, डम्बरी महरा लगायतले शुुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
नयाँ वर्षको रुपमा लिइने माघी पर्वले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।
थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ काम सुरु गर्नुका साथै नयाँ व्यवस्था लागु हुने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिने गरिएको हो ।
पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीमा यी जिल्लामा विशेष महत्त्वकासाथ मनाउने गरिन्छ ।
गाउँको अगुवा, प्रमुखदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन, घरसल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि थारु समुदायले लिने गरेका छन् ।