धनगढी : नेपाल आयल निगमले तीन इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । जसमा सिनामंगलस्थित हवाई इन्धन डिपो, सुदूरपश्चिम प्रादेशिक र लुम्बिनी प्रादेशिक डिपो छन् । सिनामंगलको त्रिभुवन विमानस्थलबाट उत्तर–पश्चिम गुह्येश्वरीतर्फ, लुम्बिनीको रूपन्देही भलवारीबाट रोहिणी नदी किनार र सुदूरपश्चिमको धनगढीबाट अत्तरियामा सार्न लागिएको हो ।
सुदूरपश्चिमको डिपो सार्न साढे तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ । लुम्बिनीको लागत तीन अर्ब २० करोड अनुमान गरिएको छ । सिनामंगलको भने यकिन भइसकेको छैन । यसअघि करिब ६ अर्ब लागत अनुमान गरिएकामा बढ्न सक्ने निगमका अधिकारी बताउँछन् ।
निगमले यी तीनमध्ये सिनामंगलको डिपो स्थानान्तरणको डीपीआर तयार गर्न पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको छ । लुम्बिनीका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । सुदूरपश्चिमका लागि पनि काठमाडौँ विश्वविद्यालयसँगै सम्झौता गर्ने तयारी भएको निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीप यादव बताउँछन् । उनका अनुसार यी तीनै डिपो स्थानान्तरण कार्य २०८४ सालभित्र सम्पन्न गरिसक्ने योजना छ ।
धनगढीबाट अत्तरिया सार्न साढे तीन अर्ब लाग्ने
परियोजना प्रमुख यादवका अनुसार सुदूरपश्चिम प्रादेशिक डिपो घना बस्तीसँगै भएको र व्यावसायिक मागसमेत धान्न नसक्ने भएर धनगढीबाट अत्तरियामा सार्न लागिएको हो । ‘डिपो सुरक्षाको मापदण्डभन्दा बाहिर परेका कारण बस्तीसमेत जोखिममा परेकाले सार्न लागिएको हो,’ उनी भन्छन् ।
उनका अनुसार निगमको आर्थिक वर्ष २०८१–८२ को बजेटमा सञ्चालक समितिद्वारा ‘सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीतिअनुरूप कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइनेछ’ भन्ने बुँदा समेटिएको छ । ‘त्यस बुँदालाई मनन गरी स्थानान्तरण थालिएको हो,’ यादव भन्छन् ।
कैलालीको गोदावरी नगरपालिका–८ अत्तरियास्थित पूर्व–पश्चिम राजमार्गनजिकै २० बिघा १६ कट्ठा आठ धुरमा नयाँ डिपो बनाउने तयारी थालिएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार उक्त जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ ।
यादवका अनुसार जग्गा प्राप्ति यही माघ १५ गतेभित्र मन्त्रिपरिषद्बाट स्वीकृत हुने अपेक्षा छ । आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न भई २०८२ वैशाख पहिलो साताभित्र शिलान्यास गर्ने तयारी छ । नयाँ स्मार्ट डिपो २०८४ वैशाखभित्र सञ्चालनमा ल्याइने भएको छ । यस परियोजनामा डीपीआर, डिपो निर्माण एवं जग्गा अधिग्रहणको कुल अनुमानित लागत साढे तीन अर्ब छ ।
धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा एक बिघा आठ कट्ठामा डिपो सञ्चालित छ । दुई हजार ८९० किलोलिटर कुल क्षमतामा सञ्चालित उक्त डिपोबाट पेट्रोल दैनिक ८० र डिजेल २५० किलोलिटर बिक्री हुँदै आएको छ ।
उक्त स्थानमा ११ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट डिपो निर्माण गरिने भएको छ । जसमध्ये पेट्रोल एक हजार ८००, डिजेल ६ हजार ६००, मट्टीतेल ५०० र पानी ट्यांकी तीन हजार किलोलिटर क्षमताको निर्माण गर्ने जनाइएको छ ।
यसअघि कञ्चनपुरको पुनर्वास–३ र ६ स्थित राष्ट्रिय आवास कम्पनीको ७४ बिघामध्ये २२ बिघा माग गरिएको थियो । तर, स्थानीयवासीबाट विरोध आएको कारण देखाई पुनर्वास नगरपालिकाले जग्गा दिन इन्कार गरेपछि अर्को स्थान खोज्नुपरेको थियो ।
धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा एक बिघा आठ कट्ठामा डिपो सञ्चालित छ । दुई हजार ८९० किलोलिटर कुल क्षमतामा सञ्चालित उक्त डिपोबाट पेट्रोल दैनिक ८० र डिजेल २५० किलोलिटर बिक्री हुँदै आएको छ । सात दिनको माग पुग्ने गरी ७६० किलोलिटरका दुइटा डिजेलको भर्टिकल ट्यांक छन् । ७६० किलोलिटरको एउटा पेट्रोल ट्यांक छ । ७०र७० किलोलिटरको पेट्रोल, डिजेल र मट्टीतेलका तीनवटा अन्डरग्राउन्ड ट्यांक छन् ।
उक्त डिपोबाट सुदूरपश्चिमका नौ जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, बझाङ, बाजुरा, डोटी, अछाम र कैलालीमा इन्धन वितरण भइरहेको छ । २०३७ सालमा निर्माण भएको उक्त डिपो क्षेत्रमा त्यति बेला बस्ती थिएन । हाल वरिपरि बाक्लो बस्ती बसिसकेको छ । डिपोका कारण बस्तीमा त्रास बढेको गुनासो दैनिक रूपमा आएपछि धनगढी नगरपालिकाले सार्न निगमलाई आग्रह गरेको थियो ।