धनगढीः सुदूरपश्चिममा ६ महिनामा ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले एक करोड ८४ लाख ५५ हजार राजस्व सङ्कलन गरेको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाको तथ्याङ्क अनुसार ६ महिनामा २५ हजार चार सय ७८ सवारी साधन कारबाहीमा परेका हुन् ।
सुदूरपश्चिममा सवारी साधन कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छन् । प्रदेशमा ६ महिनाको अवधिमा १० हजार पाँच सय ६ मोटरसाइकल कारबाहीमा परेका छन् । मोटरसाइकलबाट मात्र ७४ लाख ८८ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । ट्राफिकले ६ महिनामा २ हजार तीन सय ५५ ट्रकलाई कारबाही गरिएको छ । ट्रकहरूबाट २१ लाख ९९ हजार पाँच सय राजस्व सङ्कलन गरिएको छ । प्रदेश ट्राफिक प्रहरीले एक हजार सात सय ४२ बसलाई कारबाही गरेको छ । बसहरूबाट ट्राफिकले १४ लाख २८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
प्रदेशमा ६ हजार एक सय पचास जिप र कारलाई कारबाही गरिएको छ । जिप तथा कारहरूबाट ६ महिनामा ४० लाख ७९ हजार पाँच सय जरिबाना असुल गरिएको छ । सुदूरपश्चिममा ६ महिनाको अवधिमा २ हजार तीन सय ३५ ट्याक्टरलाई कारबाही गरिएको छ । प्रदेश ट्राफिक प्रहरीले ट्याक्टरहरूबाट १६ लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । यस्तै २ हजार ३९० अन्य सवारी साधन कारबाहीमा परेका छन् । अन्य सवारी कारबाहीबाट १६ लाख ३ हजार राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिल बुक बिना सवारी चलाउने, द्रुत गतिमा सवारी चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने लगायत चालक र सवारी साधनलाई कारबाही गरिएको हो । चाडपर्वको समयमा मादक पदार्थ परीक्षणलाई बढी प्राथमिकता दिएकाले बढी राजस्व देखिएको ट्राफिक प्रहरीले बताएको छ ।सुदूरपश्चिममा सवारी साधनको सङ्ख्या बढेसँगै कारबाहीमा पर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ ।