Skip to main content

‘लोकराज’ र ‘बाकावीर’ लाई शहीद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस

Submitted by editor on
ईबिगुल संवाददाता
शहीद घोषणा

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषद्को सोमवारको बैठकले अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बाकावीर र लोकराज ढकालको योगदानको कदर गर्दै मन्त्रीपरिषद्बाट सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । बाकावीरलाई जिल्ला समन्वय समिति अछामको सिफारिस र ढकाललाई लम्की चुहा नगरपालिकाको सिफारिसको आधारमा पनि उनीहरूको योगदानको कदर गर्दै मन्त्रीपरिषद्बारा सिफारिस गरी गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

बाँकावीरले राणाहरूले अछामी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँमा सहादत प्राप्त गरेका थिए । सामान्य जीवनमा पनि कसैले बहादुरका साथ काम सम्पन्न गरे उसलाई यो बाकाबीर हो भन्ने गरिन्छ । वि.सं. १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन् ।

त्यस्तै, कैलालीको कौवापुरका लोकराज ढकाललाई सशस्त्र द्वन्द्वताका सुदूरपश्चिममा विद्रोही पक्षबाट मारिने पहिलो व्यक्तिको रूपमा लिइन्छ । उनको २०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा विद्रोही माओवादी पक्षबाट हत्या गरिएको थियो। उनी तरुण दल कैलालीका सदस्य पनि थिए ।