धनगढी: सेती नदी–६ जलविद्युत् आयोजनाको भौगर्भिक अध्ययनको काम सुरु भएको छ ।
डोटीको बोगटान–फुड्सिल गाउँपालिका क्षेत्रमा सेती नदीबाट चार सय ५० मेगावाट विद्युत् उत्पादनका लागि भौगर्भिक अध्ययनको काम थालिएको हो ।
बोगटान–फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले आइतवार ड्रिलिङ्गको उद्घाटन गरेका हुन। पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजना भारतीय कम्पनीले निर्माण गर्दै छ । लगानी बोर्ड नेपालले भारतको एनएचपिसी लिमिटेडसँग जलविद्युत् आयोजनाहरू निर्माणका लागि सम्झौता गरेको छ ।
जलाशययुक्त आयोजनाको ड्याम र पावर हाउस निर्माण क्षेत्रमा आइतवारदेखि जमिनको अवस्थाको बारेमा अध्ययन गर्न थालिएको हो । भारतीय कम्पनीले चार महिना भित्रमा भौगर्भिक अध्ययनको काम पूरा गर्ने बताएको छ । भारतीय कम्पनीका इन्जिनीयरहरू सुरेश मिना र प्रमोद कौशिक लगायतको टोली आयोजना निर्माण स्थलमा खटिएका छन् । ड्रिलिङ्ग बहुउद्देश्यीय आयोजना निर्माण हुनु अघि गरिने भौगर्भिक अध्ययनका लागि महत्त्वपूर्ण मानिन्छ। ड्रिलिङ्ग गरी जमिनको विभिन्न गहिराइमा रहेको चट्टानको अध्ययनबाट त्यहाँको भूबनोट र संरचना निर्माणको उपयुक्तताका बारेमा जाँच गरिन्छ ।
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले सेती नदी–६ जलविद्युत् आयोजनाको काम पूरा भएमा देशलाई ठुलो फाइदा हुने बताए । आयोजनाले सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकालाई फाइदा हुने अध्यक्ष गड्सिलाले बताएका छनु ।
प्रदेश सरकारको सहयोगमा निर्माण स्थलसम्म पुग्ने १५ किलोमिटर सडक निर्माण गरिसकेको छ ।२०७९ भदौ २ गते एनएचपिसी कम्पनी र नेपालको लगानी बोर्डबिच यो आयोजना निर्माणको समझदारी भएको थियो । सेती नदी–६ जलाशययुक्त आयोजना डोटी र अछाममा पर्दछ ।