धनगढीः कैलालीको धनगढीमा पाँच दिन प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला लाग्ने भएको छ ।
सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी गर्ने भएको हो ।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलको मैदानमा माघ २६ देखि ३० गतेसम्म कृषि तथा पशुपन्छी प्रदर्शनी हुने भाएको छ । सुदूरपश्चिमका ९ जिल्लाका कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ । प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्न कृषि प्रदर्शनी गरिन लागेको प्रदेश कृषि निर्देशक खगेन्द्रप्रसाद शर्माले बताए । उनले भने, ‘खरिद–बिक्री हुन्छ । रैथाने बालीहरूको पनि बिक्री हुन्छ । स्वाद पनि लिन सक्नु हुनेछ ।’ प्रदेश सरकारले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धि देखाउन ३५ लाख खर्च गरेर मेला आयोजना गर्न लागेको हो ।
प्रदेश सरकारले केही गरेन भन्ने जनगुनासो सुनिन थालेकाले त्यसलाई चिर्न मेला आयोजना गरिन लागेको कृषि निर्देशक शर्माले बताए । मन्त्रालयमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दैै शर्माले भने, ‘माघ २६ देखि ३० गते ५ दिनसम्म कृषि तथा पशुपन्छी मेला गर्न लागिएको छ । प्रदेश सरकारले प्रदान गरेको अनुदान र किसान आफैँले उत्पादन गरेको कृषि उपज प्रदर्शनी राखिने छ ।
मेलामा ९ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनी गरिने छ । मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने छ । कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धान बारे बहस र छलफलसमेत गरिने छ । मेलामा कृषि तथा पशुपन्छी क्षेत्रका उपकरणहरूको प्रदर्शनीसमेत गरिने छ ।
मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने प्रयास गरिने निर्देशक शर्माले बताए । ‘मेलामा एक सय ५० स्टल राखिने र सबै स्टल कृषकलाई निःशुल्क उपलब्ध गराइने छ,’ उनले भने, ‘मेला सञ्चालनका लागि कृषि विकास निर्देशनालयले ३५ लाख बजेट छुट्याएको छ । मेलामा विभिन्न विधाका कृषकलाई पुरस्कृतसमेत गरिने छ।’ सुदूरपश्चिमका रैथाने र अर्गानिक कृषि उपज र खानाको परिकारको समेत मेलाका माध्यमबाट प्रचारप्रसार गरिने उद्देश्य रहेको निर्देशक शर्माले बताए ।
मेलाको माध्यमबाट किसान, कृषि उपज, उपभोक्ता र कृषि विज्ञहरूलाई एकै स्थानमा ल्याएर कृषि क्षेत्रको उपलब्धि र सम्भावनाको खोजी गरिने छ । रैथाने कृषि उपजको प्रवर्धन गर्दै उत्पादन र उपभोग समेत बढाउन मेला सहयोगी हुने ठानिएको छ । मेलामा ३० जना किसानलाई पुरस्कार समेत प्रदान गरिने छ ।