Skip to main content

सामाजिक विकास समितिद्धारा पोषण सामग्रीको गुणस्तर परीक्षणको प्रतिवेदन पेस गर्न निर्देशन

Submitted by editor on
ईबिगुल संवाददाता
सामाजिक विकास समिति

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले पोषण झोलामा रहेका खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

समितिले तीन दिन भित्र प्रतिवेदन पेस गर्न प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको हो।

सामाजिक विकास समितिको सोमवार बसेको बैठकले प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पोषण झोलामा समावेश गरिएका खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएको प्रतिवेदन समितिको सचिवालयमा पेस गर्न निर्देशन दिएको छ। केन्द्रले खरीद गरेर गोदाममा राखेको पोषण झोलामा समेटिएका खाद्य सामग्रीहरू गुणस्तरहीन भएको गुनासो आएपछि सामाजिक विकास समितिले चासो देखाएको हो। गुणस्तर परीक्षण प्रतिवेदन पेस गर्न निर्देशन दिएको समितिका सभापति धर्मराज पाठकले बताएका छन्।

समितिले सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मी र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख झनक ढुङ्गानालाई समितिमा बोलाएर छलफल गर्दा उनीहरूले खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएको बताएपछि गुणस्तर प्रमाणीकरण गरेको प्रतिवेदन समितिमा पेस गर्न निर्देशन दिएको हो। “केही दिन अघि बाजुरामा कुपोषणका कारण एक बालकको ज्यान गएको समाचार प्रकाशित भयो” सामाजिक विकास समितिका सभापति पाठकले भने, “अनि पोषण झोलामा गुणस्तरहीन सामग्री राखेर किनियो भन्ने समाचार पनि आयो, त्यसपछि मन्त्रालयका सचिव र आपूर्ति केन्द्रका प्रमुखलाई बोलाएर छलफल गर्दा गुणस्तर प्रमाणित गरिएको बताएपछि समितिले त्यो प्रतिवेदन तीन दिन भित्र पेस गर्न निर्देशन दिएको हो।”

समितिको बैठकमा स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त निर्देशक ढुङ्गानाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तर प्रमाणित गराएर मात्रै वितरणको तयारी गरिएको बताए। पोषण सामग्री खरीदका भएको ढिलाई बारे प्रदेश सभा सदस्यहरूको प्रश्नको जवाफ दिदै मन्त्रालयका सचिव डा। रेग्मीले चालु आर्थिक वर्षको बजेट दुई महिना ढिलो गरी पारित भएको र खरीद प्रक्रिया सुरु गर्ने बेलामा प्रदेशका लेखा समूहका कर्मचारीको आन्दोलनका कारण टेन्डर प्रक्रिया समयमै सुरु गर्न नसकेर ढिलाई भएको बताए।


स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गएको चैत १८ गते टेन्डर आल्हान गरी प्रदेशका नौ वटै जिल्लाका पोषणको समस्या रहेका गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि पोषणको मात्रा पु¥याउन पोषण झोला खरीद गरेको थियो। केन्द्रले खरीद गरेको पोषण सामग्री गुणस्तरहीन रहेको समाचार प्रकाशित भएपछि समितिले केन्द्र सँग खरीद प्रक्रियाका कागजपत्रहरू मागेको र कागजपत्रहरू अध्ययनपछि केन्द्रका निमित्त निर्देशक झनक ढुङ्गाना र सामाजिक विकास समितिका सचिव डा। हेमराज रेग्मीलाई समितिमा बोलाएर छलफल गरेको थियो।

बाजुरामा कुपोषणले बालकको ज्यान गएको विषयमा चासो राख्दा स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख ढुङ्गानाले बालबालिकाका लागि पोषणयुक्त तयारी खाना प्रदेश, जिल्ला र स्थानीय तहका स्वास्थ्य संस्थामा अभाव नरहेको, तर मृत्यु भएका बालक स्वास्थ्य संस्थाको पहुँचमा नपुगेको जानकारी पाइएको बताए। उनले कुपोषित बालबालिकाको खोजी गरी उनीहरूलाई पोषण उपलब्ध गरउानु आफुहरूको दायित्व भएपनि खोजी गर्न नसक्नु कमजोरी भएको स्वीकार गरे। उनले आगामी दिनमा त्यसतर्फ ध्यान दिइने बताए।