धनगढी: धनगढी उपमहानगरपालिका–१२ को सिद्धनाथ माध्यमिक विद्यालयमा पाँच करोड २७ लाख बढीको भवन निर्माण हुँदैछ ।
सिद्धनाथ माध्यमिक विद्यालय, जुगेडामा पाँच करोड २७ लाख ३३ हजार ६२१ रुपैयाँको लागतमा विद्यालय भवन निर्माण हुने भएको हो । भारत सरकारको ‘नेपाल–भारत विकास साझेदारी’ कार्यक्रम अन्तर्गत धनगढीको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत धनगढी उपमहानगरपालिकाले गत वर्ष नै धनगढीका पाँच वटा नमुना विद्यालयको भवन निर्माण गर्न डिपिआर तयार गरेर र काठमाडौंस्थित भारतीय राजदुताबामा पेस गरेको थियो । पहिलो चरणमा जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको हो ।
विद्यालय भवनको निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर हुने बित्तिकै बोलपत्र आह्वान गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले वडा नम्बर ९ को भवानी मावि, वडा नम्बर ११ को ठेकराज मावि, वडा नम्बर १६ को बेहडाबाबा मावि र वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालय भवनको डिपिआर तयार गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत भारती दूतावासमा पठाइएको थियो ।
विद्यालय भवन निर्माणका लागि ‘नेपाल–भारत विकास साझेदारी’ कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाको प्रस्तावमा दूतावासले रकम उपलब्ध गराउने भएको छ ।
समझदारीमा विद्यालय भवन निर्माणका लागि छिट्टै बोलपत्र आह्वान गरिने र कुल लागतको १० प्रतिशत रकम उपमहानगरपालिकाले ब्यहोर्ने छ । निर्माण सम्झौता भएको १५ महिनाभित्र विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिने नगर प्रमुख गोपाल हमालको सचिवालयले बताएको छ ।