Skip to main content

गेटा मेडिकल कलेज : पुर्वाधार सकिदै, सञ्चालनमा अन्यौलता

Submitted by editor on
शिवराज भट्ट
 मेडिकल कलेज


धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित गेटामा छ सय शैयाको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सबै भौतिक संरचना निर्माण भएका छन । ५ अर्बको लगानीमा २६ वटा विभिन्न आधुनिक भवन छन्। तर, भौतिक संरचना पूरा भइसक्दा पनि मेडिकल कलेज सञ्चालनबारे सरकारले निर्णय नगर्दा अर्बौका संरचना अलपत्र अवस्थामा छन्।  


२०६५ सालमा गेटामा सरकारी स्वामित्वको मेडिकल कलेज बनाउने पहल भयो। जग्गाको भोगाधिकार प्राप्तिपछि २०६८ सालमा मन्त्रिपरिषद्को गठनादेशबाट मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति गठन भयो। ०७०÷७१ सालदेखि भौतिक पूर्वाधार निर्माण सुरु भयो। पूर्वाधार निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको मेडिकल कलेज पूर्वाधार निर्माण समितिले जनाएको छ । मेडिकल कलेज र अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार तयारी अवस्थामा छन्। 


तीन÷तीन तलाका दुईवटा कलेज भवन बनिसकेको छन । सय जना विद्यार्थी अटाउने कक्षा कोठा, ई–लाइब्रेरी भवन पनि निर्माण भइसकेका छन । छात्राबासका लागि चार तले ४ वटा भवन पनि बनेका छन । दुईवटा भवन निर्माणको अन्तिम चरणमा छन्। कलेजमा अस्पताल सञ्चालनका लागि छ सय शैयाक क्षमता दुईवटा भवन पनि छन्। चिकित्सकको आवासका लागि चार÷चार तलाका १३ वटा भवन तयार छन्। 


त्यतिमात्र होइन, बिरामी कुरुवा, शवघर, अक्सिजन प्लान्ट भवन, लाउन्ड्री भवन, क्यान्टिन, इलेक्ट्रोनिक भवन, अस्पताल र कलेजका प्रशासनिक गरी २६ बढी भवन निर्माण भइसकेका छन्। विद्युतको शवस्टेशन, परिषरभीत्रको सडक कालोपत्रे र खानेपानीको काम चलिरहेको छ । खानेपानी र सडक कालोपत्रे २०८० को माघमा सक्ने सम्झौता भएको छ ।


यो सकिने वित्तिकै मेडिकल कलेज पुर्वधार निर्माण विकास समितिको सतप्रतिसत निर्माण सकिन्छ । मेडिकल कलेजभीत्र अस्पताल सञ्चालन र अध्यापनका लागि चाहिने फर्निचरको काम पनि सकिएको छ । एक दशकअघि बनाइएको गुरुयोजनाअनुसार गेटा मेडिकल कलेजको निर्माणका लागि ७ अर्ब ३३ करोडको लागत अनुमान गरिएको थियो ।


गेटा मेडिकल कलेजलाई कुन मोडेलमा सञ्चालन गर्ने भन्ने अन्योलता देखिएको छ । सुदूरपश्चिम जन्मथलो भएका प्रधानमन्त्री शेरबहादुर देउवा गेटालाई मेडिकल कलेजका रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा छन । सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि गेटा मेडिकल कलेज र डडेल्धुरामा सञ्चालन गरिने मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा सञ्चालनमा ल्याइने उल्लेख गरिएको थियो। 


मेडिकल कलेजको पुर्वाधारको निरिक्षणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहालले भने यसलाई मेडिकल विश्वविद्यालय बनाउने घोषणा गरिसकेका छन । यद्यपी यो मेडिकल विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज, के भन्ने विषयमा कानुन आई सकेको छैन । 


एक÷दुई वर्ष अघि देखि नै यसको मोडालिटि आईसक्नुपथ्र्यो । तर पुर्वाधार सकिएर खण्डहर हुँदा पनि के बन्ने भन्ने कुराको टुंगो भने लागि नसक्दा सुदूपश्चिमबासीमा निरासा छाएको छ । 


गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएमा बढी राजनीति हुने आशंका यहाँका बासिन्दाले गरेका छन् । ‘मनमोहन, बिपीजस्ता महापुरुषका नामका खोलिएका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू त राजनीतिक भर्ती केन्द्रका अखडा भए,’     मेडिकल विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने । ‘त्यसैले प्रतिष्ठान बनेर पनि सुदूरपश्चिमलाई फाइदा छैन ।’


डा.प्रमोद जोशीलाई गेटा मेडिकल कलेजको अस्पताल निर्देशक नियुक्त गरेर पठाएको थियो । अहिले गेटामा सय शैयाको अस्पताल सञ्चालनमा छ । सय शैयाको अस्पताल पनि पुर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।


विश्वविद्यालय, प्रतिष्ठान वा मेडिकल कलेज के बन्ने ? भन्ने कुराको टुंगो नलाग्दै उपकरण खरिदको टेन्डर भएपछि झन आशंका उत्पन्न भएको थियो । उद्यपी गत वर्ष गरिएका ती टेन्डरहरु रद्ध भएर अहिले अस्पतालमा नयाँ खरिद प्रकृया सुरु भएको छ । 
मेडिकल कलेज सञ्चालनका लागि तीन सय शैयाको अस्पताल तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने अनिवार्य प्रावधान रहेका कारण पहिले आगामी तीन वर्ष यता यसमा एमविविएसको पढाई नहुने निश्चित प्राय भएको छ ।