धनगढीः सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत पर्यटन मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाईमार्फत ’प्रदेश पर्यटन महोत्सव २०८१ आयोजना गर्नका लागि आर्थिक वर्ष २०८१/८२ को लागि ४० लाख बजेट विनियोजन गरिएको थियो।
२०८१ माघ ४ गते उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा क्रियाशील सरोकारवाला पर्यटन व्यवसायीहरूको बैठकबाट पर्यटन तथा होटल व्यवसायी केशव दत्त पाण्डेयको संयोजकत्वमा पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्थाको प्रतिनिधित्व हुने गरि १० सदस्यीय मूल आयोजक समारोह समिति सर्वसम्मत रूपमा गठन गरिएको थियो।
समितिले विभिन्न तयारी बैठकहरु आयोजना गरी २०८१ चैत्र ४ गतेदेखि ६ गतेसम्म “सुदुरपश्चिम पर्यटन महोत्सव–२०८१ सञ्चालन गर्ने योजना अनुरूप काम गरिरहेको अवस्थामा प्रदेश सभाको अर्थ प्राकृति स्रोत समितिको हस्तक्षेपका कारण सुदूरपश्चिम पर्यटन महोत्सव–२०८१ प्रभावित हुने भएको हो। पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र समितिका अन्य सदस्यहरूको अश्वाभाविक चासो र हस्तक्षेपका कारण पर्यटन महोत्सवबाट निजी क्षेत्र पछाडि हटेको कैलाली होटेल व्यवसायी संघका अध्यक्ष केशव दत्त पाण्डेयले बताए।
पर्यटन महोत्सव सफल पार्न सरोकारवाला निजी क्षेत्रले नेपाल पर्यटन बोर्डसँग समेत समन्वय गर्दै “फारवेस्ट ट्राभल मार्ट–२०२५ लाई संयुक्त रुपमा आयोजना गर्नेगरी महोत्सव सञ्चालन गर्ने तयारी थालिएको थियो, उनले भने, पर्यटन महोत्सव आयोजना गर्न नेपाल पर्यटन बोर्डले समेत ३० लाख बजेट दिएको थियो। तर प्रदेश सभा सदस्यहरूको हस्तक्षेपका कारण महोत्सव गर्नबाट सरोकारवाला पर्यटन व्यवसायीहरूले पछि हट्नु परेको छ ।
प्रदेश सरकारले पर्यटन महोत्सवका लागि ४० लाख बजेट छुट्याएको छ। २०८१ माघ ४ गते उक्त कार्यक्रमका लागि पर्यटन बोर्डले थप ३० लाख रकम दिने सम्झौता समेत भइसकेको थियो। तर, २०८१ माघ २७ गते प्रदेश सरकारको अर्थ, विकास तथा प्राकृतिक स्रोत साधन समितिको बैठकले निजी क्षेत्रलाई समारोह समितिबाट बाहिर राखी प्रदेश सभा सदस्यहरूको संलग्नतामा सप्ताहव्यापी मेला आयोजना गर्ने प्रस्ताव अघि सारेको अध्यक्ष पाण्डेयले बताए।
मुख्यमन्त्रीलाई मूल समारोह समितिको संयोजक बनाउने तथा प्रदेश सभा सदस्यहरुलाई उपसमितिको नेतृत्व गर्नेगरी निर्देशन गरिएको छ। कोरोना महामारीपछि धराशायी बनेको पर्यटन व्यवसाय केही सुधार हुँदै गएको बर्तमान अवस्थामा प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा बाइपास गर्न खोजिएको छ, पाण्डेले भने।
यस्ता प्रकारको निर्देशन दिई व्यवसायीलाई उपेक्षा गरी पर्यटन प्रवद्र्धनमा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने गैरजिम्मेवार निर्णयहरू गरिएको पर्यटन व्यवसायीको तर्क छ। प्रदेश सरकारले निजी क्षेत्रलाई उपेक्षा गर्दै पर्यटन प्रवद्र्धनमा व्यवसायीहरुको योगदानलाई कमजोर बनाउने मनसाय देखिएको पत्रकार सम्मेलनमा गुनासो गरिएको छ।
सरोकारवाला व्यवसायीहरुले पर्यटन मन्त्री, पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल र वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहसँग प्रत्यक्ष भेटगरी सुदुरपश्चिम पर्यटन महोत्सव–२०८१ सम्बन्धी जानकारी गराई सुझाव समेत लिएका थिए। यसै क्रममा, सुदूरपश्चिम पर्यटन महोत्सव–२०८१ु लाई लक्षित गर्दै निजी क्षेत्रका व्यवसायीहरु गत मार्च १९–२१, २०२५ मा दिल्लीमा आयोजित एसटीटीई (साउथ एसिया ट्राभल एन्ड टुरिजम एक्सचेन्ज) कार्यक्रममा सहभागी भई उत्तर प्रदेश, उत्तराखण्ड, तथा दिल्लीका ट्राभल तथा होटल व्यवसायीहरुसँग कार्यक्रमको आयोजना गरी औपचारिक निमन्त्रणा समेत गरिसकेको छौं।
साथै, देहरादूनका टुर अपरेटरहरूसँग द्य२द्य छलफल सम्पन्न गरी, नैनीताल र रुद्रपुरका व्यवसायीहरूसँग समेत निमन्त्रणा प्रदान गरिसकिएको छ। यस कार्यक्रममा निजी क्षेत्रका व्यवसायीहरूको आफ्नो व्यक्तिगत खर्च समेत भैसकेको छ। तर, प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुको सट्टा बिभिन्न बहानामा निरुत्साहित गर्ने तथा व्यवसायीहरूको योगदानलाई कमजोर बनाउने निर्णयहरू लिएको प्रति गम्भीर आपत्ति जनाउँदै पर्यटन व्यवसायीहरूले पर्यटन मेलामा कुनै पनि किसिमको सहभागिता नरहने स्पष्ट पारेका छन्।