Skip to main content

देउवाले भने, ‘कुनै पनि दलको बहुमत नआउने कारण समानुपातिक प्रणाली हो’

Submitted by editor on
शिवराज भट्ट
शेर बहादुर देउवा

धनगढी : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले समानुपातीक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजीनिक अस्थिरता कायम रहेको बताएका छन । धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन शत्रमा बोल्दै उनले यस्तो यस्तो बताएका हुन् ।

‘संविधानमा समानुपातिक समावेशीको प्रणालीको ब्यवस्था छ । त्यसले कुनै पनि पार्टीको बहुमत आउन सकेको छैन । जस कारण हामीले बहुमत ल्याउन सकेका छैनौं । यही प्रणाली रहिरह्यो भने हामीले भविष्यमा पनि बहुमतको सरकार बनाउन सक्दैनौं’ उनले भने । यद्यपी नेता देउवा संविधान संसोधनको बारेमा भने बोलेनन । उनले सांकेतिक रुपमा समानुपातीक प्रणाली हटाउनुपर्ने संकेत गरे ।

उनले यसकै लागि दुई प्रतिष्पर्धी दलहरुले गठबन्धन गरेको पनि बताए । ‘नेपाली काँग्रेसको मुख्य प्रतिष्पर्धी पार्टी एमाले हो, एमालेको पनि हाम मुख्य प्रतिष्पर्धी हौं, तर हामी मिलेर सरकार बनाएका छौं । त्यसका अरु धेरै कारणहरु छन तर मुख्य कारण भनेको देशमा देखिएको राजनीतिक अस्थिरता नै हो’ देउवाले भने ।

उनले अन्तिम १८ महिनाका लागि आफु प्रधानमन्त्री हुने बताए । ‘आलीजीले अन्तिम १८ महिनाका लागि प्रधानमन्त्री बनाउछु भनेर सहमति गर्नुभएको छ । तपाई सबैको साथ र सहयोगले म प्रधानमन्त्री हुन्छु’ उनले भने ।  

देउवाले कांग्रेसमा अन्धकार भन्ने रोग लागेको बताए । ‘हाम्रो पार्टीभीत्र अलिकता रोग लागेको छ । त्यो भनेको अन्धकार भन्ने रोग हो’ मुस्कुराउदै उनले भने । ‘त्यस रोगलाई सदा सदाका लागि निर्मुल पार्नुपर्छ । पार्टीभीत्र आन्तरिक प्रतिष्पर्धा होला, तर भोट हाल्ने बेला हामी एक हुनुपर्छ । म त्यसको सुरुवात सुदूरपश्चिमबाटै होस भन्न चाहन्छु’ उनले भने ।

त्यस्तै महामन्त्री गगन थापाले नेपाली नागरिकले पटक–पटक पार्टीहरुलाई सहयोग गरेपनि पार्टीहरुले नागरिकको चाहना पुरा गर्न नसक्दा अहिले नागरिकको असन्तुष्टीलाई लियर केहिले खेल्न खोजेको बताए ।

थापाले अहिलेको व्यवस्था नचाहनेहरु आगोमा रोटी सेक्नतर्फ लागेको बताए । व्यवस्था बदल्न साथ दिएका आम नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाको भनाई थियो ।

काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा सबैभन्दा परिपक्क व्यक्ति भएको बताए । सभापति पाँच पटक पधानमन्त्री बनिसकेको स्मरण गदै शर्माले छैठौ पटक बन्ने कुरा ठुलो नभएको बताए ।