धनगढी: धनगढी विमानस्थलमा रहेको प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण गरिएको छ। सङ्घीय सरकार मातहतमा रहेको गोदाम सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो।
नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले प्रादेशिक गोदाम सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेका हुन। विपद्को समयमा प्रयोग गरिने सामाग्रीसहितको गोदाम प्रदेश सरकारको मातहतमा आएको छ।
गृहमन्त्री लेखकले नयाँ कार्यविधि तयार पारेर ६ वटा प्रदेशलाई प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण गरिएको बताए। बागमती प्रदेशमा लागि काठमाडौँमा रहेको गोदामले काम गर्नै उनले बताएका छन्। उनले भने, ‘भूकम्प गएको छ। एक हप्तामा चार पटक भूकम्प गयो। आज मात्र पोखरामा भूकम्प गएको छ। पहाडमा पहिरो जान्छ। आगलागी हुन्छ। तराइमा शीतलहर र गर्मीले सताउने गरेको छ। हिमाली क्षेत्रमा लेक लाग्छ, चिसोले समस्या गर्ने गरेको छ। हामी २४ घण्टा नै तयारीमा हुनुपर्छ। तीन तहका सरकार, प्राधिकरण र सुरक्षा निकायहरूले तयार अवस्थामा रहनुपर्छ।’
प्रमुख जिल्ल अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय विपद् व्यवस्थापन समिति, स्थानीय सरकारसहितको चार वटा निकायहरू प्रत्येक क्षण तयारी अवस्थामा रहन गृहमन्त्रीले निर्देशन दिएका छन्। उनले भने, ‘प्रदेश सरकार, स्थानीय सरकार र जिल्लाको समितिले नजिकको सम्बन्ध राख्नु पर्छ। हामी एकदमै खतराको अवस्थामा छौ। देशमा आएका भूकम्पहरू चार म्याग्निटिउडका मात्र भएर मात्र हो। नभएको भए ठूलो क्षेत्र हुने थियो। हामीले प्राधिकरणसँग रहेको साँचो प्रदेश सरकारलाई दिएका छौ।’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सात हेक्टरको भूकम्पले पहाडी क्षेत्रका घरहरू पूर्ण रूपमा धवस्त हुने बताए। उनले भने, ‘सात हेक्टरको भूकम्प सुदूरपश्चिममा आयो भने, कुनै घरहरू बाँकी रहदैनन्। बाजे, प्रबाजेको पालामा ढुङ्गा र माटोले बनेका घरहरू छन्। ठुलो भूकम्प आउने अनुमान गरिएको छ। हामी सचेत हुन आवश्यक छ।’
गृहमन्त्री लेखकले हस्तान्तरण गरेको गोदाममा भारतीय टेन्टहरू २६५, चीनीय टेन्टहरू ३९०, सिलिपिङ्ग ब्यागहरू २३७, कम्बलहरू पाँच सय बेडहरू २३१, म्याट्रेज पाँच सय लगायतका सामाग्रीहरू रहेका छन्। विपद्को समयमा आवश्यक अन्य सामाग्रीहरू पनि गोदाममा रहेका छन्।