धनगढी : धनगढीको सौराई स्क्वायरले हरेक वर्ष जस्तै यसपाली पनि ६ जना महिलालाई सम्मान गरेको छ । ११५ औं नारी दिवशका अवसरमा कैलालीको विभिन्न क्षेत्रमा कार्यरत ६ वटा विधाका महिलाहरुलाई सम्मानित गरिएको हो ।
शिक्षातर्फ शान्ति भट्ट, स्वास्थ्यतर्फ सुलोचना अधिकारी, पत्रकारितातर्फ शारदा फुलारा, व्यवासायतर्फ निर्मला सिंह, कला संस्कृतितर्फ सुशीला कार्की र समाज सेवातर्फ लक्ष्मीकुमारी बोगटी सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरश्वती खडकाले ‘सौराइ नारी सम्मान २०८१’ ले सम्मान गरिन ।
कार्यक्रमकी प्रमुख अथिति समेत रहेकी सामाजिक विकास राज्यमन्त्री खडकाले तीन तहका सरकारले गर्नुपर्ने कार्य सौराई स्क्वायरले गरेको भन्दै धन्यवाद ज्ञापन गरिन । ‘तीन तहका सरकारले गर्ने कार्य सौराईले गरेको छ । म त्यसका लागि धन्यवाद दिन चाहन्छु’ उनले भनिन ।
नीजि क्षेत्रले गरेको यस सम्मानले तीनै तहका सरकारहरुलाई पनि घचघच्याएको उनले बताईन । उनले समाजमा हरेक क्षेत्रमा कार्य गरिरहेका महिलाहरूलाई यसरी सम्मान गर्दा उनीहरुमा उर्जा थपिने उनले बताईन ।
कार्यक्रमका अध्यक्ष तथा सौराइ स्क्वायर धनगढीका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले विभिन्न ६ विधाका महिलाहरुलाई सम्मानित गर्न पाउदा हर्सित भएको बताए । उनले चर्चामा आएका महिला भन्दा पनि समाजमा लुकेर आफ्नो कर्म गरिरहेका महिलाहरुलाई सौराईले सम्मान गर्दै आएको बताए ।
कार्यक्रममा विशिष्ट अथिति नेपाल पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष भरत बहादुर शाहले विदेशको राम्रो आम्दानी छोडेर स्वदेशमै काम गर्न फर्केका सौराईका प्रबन्ध निर्देशक शाहले अरु युवाहरुमा पनि प्रेरण थपेको बताए । शाह युकेको लोभलाग्दो जागिर छोडेर स्वदेशमै उद्यम गर्नुपर्छ भनेर फर्केका युवा हुन ।
कार्यक्रममा सम्मानित हुनेहरुको तर्फबाट शिक्षा क्षेत्रबाट सम्मानित शान्ति भट्ट र स्वास्थ्यतर्फबाट सम्मानित सुलोचना अधिकारीले पनि सौराईको सम्मानका लागि धन्यवाद लिएका थिए ।