Skip to main content

गेटामा छिट्टै तीनसय शैय्याको अस्पताल सुरु हुने स्वास्थ्यमन्त्री बस्नेतको दाबीे

Submitted by editor on
ईबिगुल संवाददाता
मोहनबहादुर बस्नेत

धनगढी : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटामा सञ्चालनमा आएको एक सय शैयाको अस्पतालको निरिक्षण गरेका छन । स्वास्थ्यका विभिन्न परियोजनाको निरिक्षणका लागि सुदूरपश्चिम आएका मन्त्री बस्नेतले गेटामा छिट्टै ३ सय शैयाको अस्पताल सञ्चालन गरिने दाबी गरे ।


‘यस अस्पताललाई छिट्टै तीन सय शैयाको बनाईन्छ, त्यसपछि यहाँ मेडिकल विश्वविद्यालयको प्रकृया पनि अगाडि बढछ’ उनले भने ।  अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव रहेको उनको भनाइ थियो ।


झण्डै ६ अर्वको लगानी भईसकेको गेटामा पूर्वाधार निर्माणको काम ९५ प्रतिशत पूरा भइसकेको छ । तीन÷तीन तलाका दुईवटा कलेज भवन बनिसकेका छन भने सय जना विद्यार्थी अटाउने कक्षा कोठा, ई–लाइब्रेरी भवन पनि निर्माण भइसकेका छन । 


छात्राबासका लागि चार तले ४ वटा भवन पनि बनेको छ । दुईवटा भवन निर्माणको अन्तिम चरणमा छन्। कलेजमा अस्पताल सञ्चालनका लागि छ सय शैयाका दुईवटा भवन पनि छन्। चिकित्सकको आवासका लागि चार÷चार तलाका १३ वटा भवन तयार छन्। 


बिरामी कुरुवा, शवघर, अक्सिजन प्लान्ट भवन, लाउन्ड्री भवन, क्यान्टिन, इलेक्ट्रोनिक भवन, अस्पताल र कलेजका प्रशासनिक गरी २६ बढी भवन निर्माण भइसकेका छन्। विद्युतको शवस्टेशन, परिषरभीत्रको सडक कालोपत्रे र खानेपानीको काम चलिरहेको छ ।


तर गेटा मेडिकल कलेजलाई कुन मोडेलमा सञ्चालन गर्ने भन्ने अन्योलता देखिएको छ। मेडिकल विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज, के भन्ने विषयमा कानुन आई सकेको छैन । 


मन्त्री बस्नेतले सुदूरपश्चिम प्रदेशमा चिकित्सक आउन नमान्ने हुनाले जनशक्ति व्यवस्थापन गर्न कठिन भएको पनि बताए । कर्णाली प्रदेशमा तलबका अतिरिक्त भत्ता पाउने भएकाले चिकित्सक जान तयार भएपनि सुदूरपश्चिम आउन नमान्ने गरेको उनको भनाइ थियो ।