बझाङ : बझाङमा क्लिनिकमा नै किरानाका सामान राखिएको भेटिएको छ।
केदारस्युँ गाउँपालिका–९, झोताको सुलभ क्लिनिक दर्ता नगरेका र मापदण्डको पालनासमेत नगरेको भन्दै शील गरिएको हो।
बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा क्लिनिकमा प्राविधिक मापदण्डको पालना नगरेको पाइएपछि तत्कालका लागि सेवा बन्द गराइएको छ। जिल्ला प्रशासन कार्यालय, बझाङले क्लिनिक विगत २७ वर्षदेखि औषधि व्यवस्था विभागमा दर्ता नगरि सञ्चालनमा रहेको पाएको छ।
यस्तै, फार्मेसी सञ्चालन गर्न आवश्यक इजाजतपत्र नलिएको, फार्मासिष्ट नहुने, अत्यधिक मात्रामा औषधि भण्डारण गरिएको र किराना सामानहरूसमेत राखिएको अनुगमन टोलीले भेटाएको हो। आयुर्वेदिक र डेन्टल सामग्रीहरू समेत अव्यवस्थित रूपमा राखिएको देखिएपछि क्लिनिक सिल गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले बताएको छ। सहायक प्रमुख जिल्ला अधिकारी जोशीले क्लिनिक सञ्चालकलाई सात दिनभित्र आवश्यक प्रमाणपत्र र कागजात पेस गर्न निर्देशन दिइएको र सो अवधिभित्र कानुनी प्रक्रिया पूरा नगरे थप कारबाही गरिने चेतावनीसमेत दिइएको बताइन्।
अनुगमन टोलीले तमैल, भाणे, मौरीबगर, झोता, बागथला, बुंगल, बिजगडा र बित्थडचिर गाउँपालिकाको देउलेक र सुनकुडा बजार क्षेत्रमा रहेका स्वास्थ्य संस्था, औषधि पसल तथा डेन्टल क्लिनिकहरूमा पनि अनुगमन गरेको छ। कतिपय स्वास्थ्य संस्था दर्ता नभएका, म्याद नाघेका औषधिहरू बिक्री भइरहेको र निषेधित औषधिहरू भण्डारण गरिएको समते अनुगमन टोलीले पाइएको छ। तीमध्ये करिब ७ हजार रुपैयाँ बराबरका म्याद नाघेका औषधिहरू सङ्कलन गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्लामा ट्राफिक प्रहरीसहित सवारीसाधनमा समेत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा रातो नम्बर प्लेटको गाडीमा यात्रु बोक्ने, चालक अनुमतिपत्र विना सवारी सञ्चालन गर्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने लगायतका गतिविधि फेला परेका छन्। टोलीले २३ वटा सवारीसाधनलाई कारबाही गर्दै ४४ हजार ५०० रुपैयाँ बराबरको जरिबाना असुल गरिएको छ।