धनगढी : कैलालीको धनगढीमा नाली निर्माणको गति सुस्त भएको व्यापारीहरूले गुनासो गरेका छन।
धनगढी उपमहानगरपालिका–२ र ३ को ६ लेन सडकको दुबै क्षेत्रमा नाली निर्माणको काम गत माघ ९ गतेबाट सुरु भएको हो। तर, निर्माण कम्पनीहरूले कामदारको सङ्ख्या काम र खाल्डो खनेर काम अलपत्र छोड्दा व्यापारीहरू हैरान भएका हुन्।
धनगढी उपमहानगरपालिका–२ आदर्श चौकका व्यापारीहरूले निर्माण कम्पनीहरूले सामाग्री र कामदारको व्यवस्थापन गर्न नसकेको बताएका छन्। उनीहरूले तीन महिनादेखिको पसल अगाडि खाल्डो खनेर नाली निर्माण नगरिएको बताएका हुन्। आदर्श चोकका एक व्यापारीले भने, ‘काममा लापर्बाही छ। २र३ घण्टा मात्र काम हुन्छ। सामान हुँदैन, फर्केर जान्छन्। तीनरचार जना मात्र कामदार छन्। तीन महिनादेखि होटेल बन्द छ। बर्खाको समय छ, खाल्डो भत्किएको छ। काम हुँदैन।’
धनगढी उपमहानगरपालिका–२ र ३ क्षेत्रको बर्सातको पानी मोहना नदीमा फाल्न ६ लेन सडकमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाईले मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माणका लागि ठेक्का मार्फत काम गर्दै छ। तर, निर्माण सामाग्री र जनशक्तिको व्यवस्थापन निर्माण कम्पनीहरूले राम्रो गर्न सकिरहेका छैनन्।
मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर लामो नाली निर्माणको ठेक्का भएको हो। पूर्वी क्षेत्रमा ६ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसामा सनराइज÷चन्द्र विकाश÷मस्टा जेभीले काम गर्दै छ। सहरी विकासले ३५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ। निर्माण कम्पनीले २४ प्रतिशत भुक्तानीसमेत लिएको छ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको पश्चिम क्षेत्रमा सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसामा एमबी÷शुभलक्ष्मी÷आदर्श जेभीले गर्दै छ। पश्चिम क्षेत्रमा पनि भौतिक प्रगति ३५ प्रतिशत रहेको छ। निर्माण कम्पनीका प्रतिनिधि सन्तोष रावलले काम ढिलो नभएको बताए। उनले भने, ‘एक करोड ४७ लाख मात्र बजेट थियो। काम सुरु भएको, एक महिनामा भुक्तानी लिदा सकियो। तर, मेरो काम रोकिएको छैन। सुरुको जस्तै, गतिमा गर्न सकेन। अहिले बजेट छ। काम जारी छ। जेठसम्म मात्र काम हुने हो। बजेट अभावले काम कम भएको हो। बजेट भएको भए, धेरै हुने थियो। अहिले ५ करोड आएको छ।’
मोहनापुल–अत्तरिया ६ लेन सडकको सर्भिस लेनको बिचबाट बर्सातको पानी मोहनासम्म बग्नका लागि नाली निर्माण गरिदैछ। बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ। नाली सफा गर्नका लागिसमेत गोलहरूसमेत निर्माण गरिने छन्। निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गते भित्र काम पूरा गर्नुपर्ने छ। तर, ६ महिना अगाडी नै काम पूरा गर्ने रावलको दाबी छ।
मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीमा डुबान हुँदै आएको छ। धनगढीको डुबान समस्या समाधानका लागि सडकको दुबै तिर नाली निर्माण थालिएको हो। जेठ अन्तिमसम्म नाली निर्माणको काम हुने र पानी निकाससमेत गरिने सहरी विकासले बताएको छ। चालु आर्थिक वर्षमा नाली निर्माणको काम भने आधा मात्र हुने भएको छ।