धनगढी : कैलालीको कैलारी गाउँपालिका– ७ का वडाध्यक्ष दीपेन्द्र बममाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। उनलाई कुटपिट गरेको आरोपमा तीन जना युवाहरू १० दिनदेखि प्रहरीको थुनामा रहेको खुलेको हो।
धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलमा वडाध्यक्ष बम र त्यही बस्ने युवाहरूबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ। उनीहरूको बिचमा वैशाख १५ गते राति कुटाकुट भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कुटपिटको घटनामा संलग्न रहेको आरोपमा तीन जना नियन्त्रणमा रहेको बताएका छन्। उनले धनगढी उपमहानगरपालिका–८ का २८ वर्षीय सन्तोष चौधरी, कैलारी गाउँपालिका–२ बसौटी घर भइ धनगढी– ८ मा बस्दै आएका २२ वर्षीय अनुराज चौधरी र २७ वर्षीय महेन्द्र चौधरी प्रहरीको थुनामा छन्। उनीहरू विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।