बाजुरा : २०६४ सालसम्म बाजुराको मार्तडीमा कच्ची सडकसमेत पुगेको थिएन । त्यतिबेला यहाँका स्थानीयले भरिया घोडा र खच्चरमार्फत नुन, तेल, दाल, चामललगायत दैनिक उपभोग्यका खाद्यान सामग्री ढुवानी गर्दै आएको थिए । यहाँका स्थानीयको मुख्य व्यापारिक केन्द्र छिमेकी जिल्ला अछामको साँफेबगर थियो । त्यहाँबाट यहाँका स्थानीयले भरिया, घोडा, भेडा र खच्चरमार्फत सामान ढुवानी गर्ने गरेका थिए ।
त्यतिबेला सामान ढुवानी गर्नका लागि गोरेटो र घोरेटो बाटो समेत राम्रो थिएन । घोडा खच्चरलाई समेत बाटोमा हिँड्न निकै गाह्रो हुन्थ्यो । अहिले सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरमा रहेको विकट हिमाली गाउँपालिकाको बिच्छ्या र तल दक्षिण क्षेत्रको खप्तड छेडेदह गाउँपालिका–१ को काँडासम्म सडक पुगेको छ । पहिला चामल ल्याउनका लागि भेडा लिएर साँफेबगरमा जान्थ्यौँ । गणतन्त्र आएपछि अहिले हामीले गाउँमै चामल पाउने गरेका छौँ, हिमाली गाउँपालिका–२, बिछ्याका ८० वर्षीय रत्नलाल रावतले बताए ।
यहाँका गाउँबस्तीमा खानेपानी, स्वास्थ्य, शिक्षासमेतको निकै अभाव थियो । उच्च शिक्षा पढ्नकै लागि यहाँका बालबालिका खाने सामल बोकेर सिलगढी, धनगढी, महेन्द्रनगर, नेपालगन्ज र काठमाडौँ जान बाध्य थिए । अहिले बाजुरामै अध्ययनका सबै सुविधा उपलब्ध छन् । उहिले गाउँमा खानेपानीको निकै अभाव थियो । खोला र कुवाको पानी खान यहाँका बासिन्दा बाध्य थिए । फोहोर पानी प्रयोग गर्दा जेठ, वैशाखमा गाउँमा झाडापखालालगायतका बिरामी धेरै हुने गर्र्थे । गाउँमा खानेपानी नभएकै कारण कसैले पनि छोरी दिन मान्दैन थिए । अहिले गाउँमा खानेपानीको धारा निर्माण भएपछि छोरा खोजेर आफैँ बुहारी गाउँमा आउने गरेको बुढीगङ्गा नगरपालिका–२, मुस्तोलाका ९० वर्षीय अम्ला रावतले बताए ।
उपचारका लागि गाउँनजिक राम्रो स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयले उपचार गर्न निकै टाढा जानु पथ्र्यो । कैयौँले झाडापखाला लागेर ज्यान गुमाउनुपर्ने बाध्यता थियो । रोग लागे पनि सामाजिक रूढिवादीका कारण झारफुक गर्ने गर्थे । यहाँका स्थानीयको चेतनामा खासै परिवर्तन आएको थिएन । अहिले स्वास्थ्य क्षेत्रको त्यो अवस्थाको अन्त्य भएको छ । भगवान् भरोसामा यहाँका महिलाले बच्चा जन्माउने गर्थे ।
हिमाली गाउँपालिका(२, बिच्छ्याका ८० वर्षीय रत्नलाल रावतले भने “पहिला गाउँमा हिँड्नलाई समेत बाटो थिएन । कहिलेकाहीँ रातिको बेला यताउति जानु परेमा टर्चको भरमा ज्यान जोखिममा राखेर पैदल यात्रा गर्नु पथ्र्यो ।”
पहिला गाडी भारतमा मात्र देखेको थिएँ । आफूलाई कहिले यी गाडी बाजुरामा देख्न पाउँला कि भन्ने लाग्थ्यो । अहिले मेरो आँखाअगाडि घरसम्मै बस चल्न थालेका छन् । प्रजातन्त्रपछि आएको यो लोकतन्त्र गणतन्त्रले पछिल्लो समय यहाँका दुर्गम गाउँलाई सुगम बनाएपछि निकै खुसी लागेको रावतले बताए।