Skip to main content

केन्द्रले आँखा चिम्लेको महाकाली करिडोर, १२ वर्षमा ३० किलोमिटर मात्रै पक्की

Submitted by editor on
महादेव अवस्थी, सुन्दरसिह धामी
महामाली करिडोर

महेन्द्रनगर/दार्चुला : भारत र चीनसँगको नाका जाडेर आर्थिक समृद्धीको ढोका खोल्ने लक्ष्य लिएर सुरु गरिएको महामाली करिडोरको निर्माण सुस्त छ । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिंकर हुदै चीनको ताक्लाकोट जोड्ने महाकाली करिडोरको काम प्रक्रियागत अल्झनले सुस्त भएको हो । 

नेपाल, भारत र चीनसंगकोे त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माणमा लामो सयम वन क्षेत्रमा पर्ने रुख कटानी लगायतका प्रक्रियामै अल्झिदा आयोजना सुरु भएको एक दशक बित्दा समेत जिरो प्वाईन्टको ट्र्याक खुल्न सकेको छैन ।

राष्ट्रिय प्राथमिकताको आयोजना भएपनि पर्याप्त बजेट र वन क्षेत्रमा पर्ने रुख कटानी समयमै हुन नसक्दा सन्तोषजनक काम हुन सकेको छैन । विसं २०६६ देखि सुरु भएको करिडोरको १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ । 
कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४२५ किलोमिटर सडक निर्माण हँुदैछ । जसमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निमार्ण गरिरहेको छ ।

कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको ११ किलोमिटर सडकको रुख कटानीको आदेश आएपनि डिभिजन वन कार्यालय कञ्चनपुरले रुखमा टाचा नलगाउदा ढिलाइ भएको छ । उनका अनुसार डडेल्धुरामा पर्ने ५८ किलोमिटर सडक मध्ये २७ किलोमिटर सडकको मात्रै ट्रयाक खुलेको छ । बाकी ३१ किलोमिटर सडकको रुख कटानीका लागि आदेश नआउदा ट्रयाक खुल्न सकेको छैन ।

त्यसैगरी बैतडी जिल्लामा पर्ने १४४ किलोमिटर सडक मध्ये ९२ किलोमिटर सडक बनेको छ भने ५२ किलोमिटर सडकको ट्रयाक खुल्न सकेको छैन । दार्चुलामा पर्ने २१२ किलोमिटर सडक मध्ये ९६ किलोमिटरको मात्रै सडक बनेको छ । बाकी ११६ किलोमिटर सडकको ट्रयाक खुल्न सकेको छैन । 

दिवा–शनिदेव जेभीसंग गत वर्ष असारमा पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि रुख कटानको आदेश नहुँदा काम अघि बढ्न सकेन । लोकमार्ग अन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार ९५१ रुख कटान गर्नुपर्ने छ । आयोजनाको २०८०÷०८१ भित्र ट्रयाक खोलिसक्नुपर्ने लक्ष्य भएपनि हालसम्म कामको सुरुवात भएको छैन ।

आयोजनाका लागि गत वर्ष ७९ करोड ४२ लाख रकम विनियोजना भएको र चालु आवमा ४१ करोडमात्रै बजेट रहेकाले बजेट पर्याप्त नहुँदा पनि काममा समस्या भइरहेको आयोजना कार्यालयले जनाएको छ । 

कञ्चनपुरका वरिष्ठ ब्यवसायी दिनेश मल्लले चीनको सीमाना तिंकरसम्म सडक सञ्जाल विस्तार गरी व्यापारिक नाकाका रुपमा महाकाली करिडोरलाई विकास गर्नुपर्ने बताए । ‘महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकसित गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुन्छ’ मल्लले भने । ‘सरकारले करिडोरलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।’

उनले अहिलेकै गतिमा निमार्ण कार्य भए योजना सम्पन्न गर्न अझै धेरै वर्ष लाग्ने भएकाले छिटो सम्पन्न गर्न राज्यले तदारुकताका साथ लाग्नुपर्ने बताए । होटेल व्यवसायी जगदीशचन्द्र भट्टले महाकाली करिडोर सुदूरपश्चिमको विकासका लागि कोसेढुङ्गा सावित हुने बताए । ‘करिडोर निमार्णमा ढिलाई हुदै आएको छ, राज्यले छिटोसम्पन्न गर्न तर्फ लाग्नुपर्छ’ उनले भने । ‘यसले व्यापारिक मात्रै नभई धार्मीक पर्यटनको समेत ठुलो सम्भावना बाकेको छ ।’

महाकाली करिडोरसंगै कञ्चनपुरको महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्णपछि मुलुककै समृद्धि हुने अपेक्षा व्यवसायिहरुको छ ।     ब्रह्मदेवदेखी महाकालीको किनारै किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुलाको जिल्लाको टिंकर नाका सम्म  यातायातको सहज पहुँच विस्तार गरी सुदूरपश्चिम प्रदेश तथा  मुलकको बिकासमा कोसे ढुङ्गा सावित हुने अपेक्षा लिएपनि निमार्ण गती सुस्त छ । 

करिडोर बनेपछि ब्रहमदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलंगा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुदै तिंकर नाका सम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पु¥याउने छ ।

सुदुरपश्चिम प्रदेशका चार जिल्ला कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चिनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं. १ सम्म  निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने लाखौं प्रत्यक्ष लाभान्वित हुने आयोजना कार्यालयले जनाएको छ ।  

त्रिदेशिय नाका भएका कारण व्यापारिक महत्व धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागी छोटो बाटोको रुपमा प्रयोग हुने छ । निमार्ण सम्पन्न पछि यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने छ ।