घोडाघोडीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विकास निर्माणका विषयमा सबै राजनीतिक पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
कैलालीको गौरीगङ्गा नगरपालिका–१० मा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले जुनसुकै पार्टीबाट विजयी भएर आए पनि विकास निर्माणका सन्दर्भमा सबै जनप्रतिनिधि एक हुनुपर्ने बताए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बालबालिका भोलिका कर्णधार भएकाले उनीहरूको भविष्य सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य जानकी कुँवर, गौरीगङ्गा नगरपालिकाका प्रमुख देविदत्त कँडेल, उपप्रमुख भोजबहादुर बमलगायतले बालबालिकालाई देशप्रति जिम्मेवार बनाउन उनीहरूप्रतिको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए। ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ कैलालीको गौरीगङ्गा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।