Skip to main content

हत्या, बेपत्ता र यौन हिंसाको आरोप लागेका राम बहादुर बम्जन ३ करोड नगद सहित सार्वजनिक

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
रामबहादुर बम्जन

काठमाडौं :  सिआईबीले हत्या, बेपत्ता र यौन हिंसाको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी तपश्वी भनिएका बम्जनलाई सार्जजनिक गरेको हो । 

बम्जनलाई सीआईबीको टोलीले  मंगलबार काठमाडौंको हात्तीगौडबाट पक्राउ गरेको थियो । उनी बसेको घरबाट नेपाली तथा विदेशी मुद्रा बरामद भएको छ । जसमध्ये ३ करोड ३ लाख  ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४०६ नेपाली रुपैयाँ बराबरको १७ देशको विदेशी मुद्रा गरी कूल  ३ करोड ३४  लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको हो ।

यसैगरी उनको साथबाट केही सामान पनि बरामद भएका छन् । प्रहरीका अनुसार मोटरसाइकलको बिलबुकहरू ३ थान, टोयटा हाईलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका ल्यापटप २ थान, विभिन्न ब्राण्डका मेमोरी कार्डहरू २ थान, विभिन्न ब्राण्डका मोबाइल १४ थान र विभिन्न ब्राण्डका आइ प्याड र ट्यापहरू ५ थान बरामद भएको  प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार ४ जना अनुयायीहरू बेपत्ता भएको भन्ने सूचना आएको र  उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ । उनीमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ ।  

जिल्ला प्रहरी  कार्यालय सर्लाहीले २०७६ माघ २४ गते बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको  थियो । पक्राउ परेका बम्जनले आफू पाँच वर्षसम्म जंगलमा बसेको प्रहरीसमक्ष बयान दिएका छन्। घटनबारे थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।