Skip to main content

कञ्चनपुर शुक्लाफाँटाका विपन्न मुक्त कमैया, मुक्त हलियाका घरमा खानेपानीका धारा जडान

Submitted by editor on
ईबिगुल संवाददाता
खानेपानीका धारा जडान

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का आर्थिक विपन्न, मुक्त कमैया, मुक्त हलिया परिवारका घरमा निःशुल्क रूपमा खानेपानीका धारा जडान गरिएको छ।

वडा कार्यालयले आवश्यक सामग्री उपलब्ध गराई धारा जडान गरेको हो।

अतिविपन्न परिवारलाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि वडाबाट बजेटको व्यवस्था गरी खानेपानी तथा सरसफाइ समितिसँगको समन्वयमा धारा जडान गरिएको शुक्लाफाँटा–०१ का वडाध्यक्ष लालबहादुर ऐरले बताए। एक लाख बजेटमा १५ परिवारका घरमा धारा जडान गरिएको छ। “घरको आँगन भएर खानेपानीको पाइप लगिएको थियो”, चैता रानाले भने, “दैनिक मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका छौँ, धारा जडान गर्ने पैसा थिएन, वडा कार्यालयले धारा जडान गरिदिएपछि सुरक्षित पानी पिउन पाएका छौँ।”

सुरक्षित खानेपानीका लागि धारा जडान भएपछि हेण्डपम्पबाट असुरक्षित पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको मदन दमाईले बताए। “हेण्डपम्पमा आर्सेनिक, आइरनलगायत असुरक्षित तत्व आउने भएकाले स्वास्थ्यमा नकारात्मक असर पर्दै आएको थियो”, उनले भने, “अब त्यो समस्या सधैँका लागि हटेर गएको छ।” योसँगै पानीजन्य सङ्क्रामक रोगबाट मुक्ति पाइने उहाँले विश्वास व्यक्त गरेका छन्।