Skip to main content

प्रदेश सभामा महिला सदस्यको भूमिका बढाउन आवश्यक

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिम प्रदेश सभा

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका महिला सदस्यले प्रदेश सभामा आफ्नो भूमिका थप प्रभावकारी बनाएर लैजाने बताएका छन् ।  

संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थामा फरक छ । अब प्रदेश सभा वा अन्य ठाउँ महिला सदस्यले आफ्नो भूमिका प्रभावकारी बनाएर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिए । सुदूरपश्चिम प्रदेशमा १८ जना महिला प्रदेश सभा सदस्य छन् । सबै जना समानुपातिकबाट आएका हुन् । सरकारमा दुई जना महिला राज्यमन्त्री छन् भने एक जना उपसभामुख छन् ।

प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मी विकले महिला सदस्यको निर्णय प्रक्रिया र संसदीय गतिविधिमा महत्वपूर्ण सहभागी हुने भएकाले त्यसमा चुक्न नहुने उल्लेख गरिन् । संयक्त राष्ट्र सङ्घको संसद् सहयोग परियोजनाको सहयोगमा शुक्रबार फाया नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेश सभामा रहेका महिला तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने महिला सदस्यको क्षमता अभिवृद्धि तालिममा बोल्दै उनले सो कुरा बताएकि हुन ।

प्रदेश सभा सदस्य सन्तोष थापा शर्माले कहिलेकाहीँ ससाना कमजोरी र प्रस्तुतिमा महिला सदस्य चुकिरहेको उल्लेख गर्दै शून्य समय, विशेष समयका विषय र शैलीलाई अधिकतम प्रयोग र सुधार गर्नुपर्ने बताए । उनले महिलाका सवालमा समान धारण बनाएर सबै महिला प्रदेश सभा सदस्य एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।  

संसद्मा महिलाको सङ्ख्या उल्लेख्य रहे पनि प्रस्तुतिका दृष्टिले उपस्थिति कमजोर रहने गरेका टिप्पणी हुने गरेको बताउँदै उनले प्रदेश सभामा बोल्ने अधिकांश महिला सदस्यले आफ्नो क्षेत्रका विकासनिर्माणका विषयदेखि समसामयिक राजनीतिक तथा सामाजिक विषय समेटेर बोल्नुपर्ने प्रशिक्षक इन्द्रराज भट्टाईले बताए ।

प्रदेश सभामा पुरुष प्रदेश सभा सदस्यको वर्चस्व रहने गरेको गुनासो गर्दै यहाँको प्रदेश सभामा दलका तर्फबाट पनि कतिपय महिला प्रदेश सभा सदस्यले बोल्ने गरेको प्रदेश सभा सदस्य जुना दानीले बताइन् । उनले बजेट वितरणदेखि कार्यान्वयनको पाटोमा महिला प्रदेश सभा सदस्यले गम्भीरताका साथ ध्यान दिनुपर्ने बताइन्।

त्यस्तै अर्का प्रदेश सभा सदस्य जानकी ऐर बमले महिला सदस्य दलीय मान्यतासँगै आफ्नो क्षेत्रको सरोकार र जनजीविकाका विषयमा केन्द्रित हुने गरेको बताइन्। उनको विचारमा महिलाको बोल्ने शैली र विषयवस्तुको गहनतामा थप प्रभावकारिताका लागि मेहनत गर्नुपर्ने खाँचो देखिएको बताइन् । यद्यपि निरन्तर सक्रियताले पहिलेको तुलनामा थप परिपक्वता हासिल भएको अनुभव उनले सुनाइन् । दलीय मान्यता राख्ने औपचारिक सन्दर्भबाहेक अन्य विषयमा बोल्ने क्रममा भने प्रायः महिला सदस्यले प्रदेशको विकासनिर्माणका साथै सामाजिक विषयलाई नै प्राथमिकता दिने गरेका छन् ।

उनीहरूको चासोका विषयमा सामाजिक विषय पनि उत्तिकै पर्ने गर्छ । महिला सशक्तीकरणका विषयमा पनि अधिकांश महिला सदस्यले विभिन्न कोणबाट विषय उठाउने गरेका छन् । कार्यक्रमका सहभागी सुदूरपश्चिमका महिला सदस्यले नेतृत्वका माध्यमबाट प्रदेशका समस्यामा समाधान खोज्नका लागि काम गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन समावेशी नीति र कार्यक्रमको आवश्यकता रहेको बताएका थिए ।