Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, विश्वास पाउनेमा ढुक्क

Submitted by editor on
प्रदेश सभामा काँग्रेसका १८, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्र का सभामुख सहित ११, नाउपाका ७, समाजवादीका ३, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन ।
शिवराज भट्ट
मल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको लिने भएका छन । उनको विश्वासको मतका लागि आज अपरान्ह ५ बजे प्रदेश सभा बोलाईएको छ । 

आर्थिक अनियमिततामा मुछिएपछि असारको १९ गते मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपनि नाउपाले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

त्यसपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपर्ने आवाज उठ्दै आएको थियो । ‘आज अपरान्ह ५ बजेका लागि प्रदेश सभा बोलाईएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिने भनेपछि प्रदेश सभा बोलाईएको हो’ प्रदेश सभा सचिव देवबहादुर बोगटीले भने ।

५३ सदस्यीय प्रदेश सभामा अहिले ५२ सदस्य छन । नेकपा (एस)  संसदीय दलका नेता दीर्घ बहादुर सोडारी भ्रष्टाचारको मुद्धा लागेपछि निलम्बनमा छन भने बाँकी रहेका ५१ सदस्य मध्ये विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ । प्रदेश सभामा काँग्रेसका १८, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्र का सभामुख सहित ११, नाउपाका ७, समाजवादीका ३, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन । 

प्रदेश सरकारमा अहिले काँग्रेसका १८ र नेकपा एमालेका ११ गरी २९ प्रदेश सभा सदस्यको मुख्यमन्त्रीलाई समर्थन छ । यद्यपी उनले आजको विश्वासको मतका लागि नाउपाको पनि समर्थन खोजिरहेका छन । नेपाली काँग्रेस संसदीय दल र नेकपा एमाले मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न ह्विप नै जारी गरिसकेका छन ।

तर नाउपाका ७ जनाले मुख्यमन्त्रीलाई मत दिने नदिने भन्ने कुरा अहिले नै टुंगो लागि सकेको छैन । ‘मुख्यमन्त्रीले हाम्रो पार्टीका मन्त्रीलाई बर्खास्त गरेका छन । न कुनै मुद्धा लागेको छ । न अख्तियारले नै मुद्धा लगाएको छ । त्यत्तीकै मन्त्रीलाई बर्खास्त गरेका छन । उनलाई पुर्नबहाली गरेमा मात्रै हामी विश्वासको मत हाल्छौं, हैन भने विपक्षमा भोट हाल्ने सल्लाह भईरहेको छ’ नाउपाका संरक्षक रेशमलाल चौधरीले भने ।

उनले केहीबेरमा त्यसबारे निर्णय लिनका लागि पार्टी संसदस्य दलको बैठक बसिरहेको बताए । नाउपाका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी विरामी भएर काठमाण्डौं छन भने बाँकी रहेका ६ जना मध्ये ३÷३ जना विश्वासको मत दिने र नदिने पक्षमा विभाजित भएका छन । 

तर मुख्यमन्त्री शाहले भने आफुले विश्वासको मत पाउने बताए । ‘काँग्रेस एमालेकै बहुमत भन्दा बढी सदस्य छन, त्यसैले विश्वासको मत पाउछु, तर अरु दलहरुलाई पनि मिलाएर लैजाने प्रयास जारी रहन्छ’ मुख्यमन्त्री शाहले भने ।

प्रमुख प्रतिपक्षमा रहेको नेकपा माओवादी केन्द्र, प्रतिपक्षमै रहेको समाजजादी बाहेक स्वतन्त्र सांसद डाक्टर तारा प्रसाद जोशी र राप्रपाले पनि विपक्षमा मत हाल्ने तयारी गरेका छन ।