धनगढी : नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिह रावलले सुदूरपश्चिमको विकास र समृद्धिका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य आवश्यक रहेको बताएका छन । प्रदेश सभामा विहीबार मुख्यमन्त्री कमल बहादुर शाहको विश्वासको मतबारेका छलफलका क्रममा उनले यस्तो बताएका हुन ।
‘सुदूरपश्चिमको विकास र समृद्धिका लागि दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको यो सहकार्य आवश्यक छ’ उनले भने । नेता रावलले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने बताए ।
‘सरकारमा सहभागी दुई दल सँग स्पष्ट बहुमत हुदाहुदै पनि माननीय मुख्यमन्त्री ज्यूले विश्वासको मत लिने निर्णय गर्नु भएकोमा हाम्रो दल नेकपा (एमाले) उहाँको विश्वासको मतको प्रस्तावको पक्षमा समर्थन जनाउछ’ नेता रावलले भने ।
असार १९ गते नाउपाको तर्फबाट उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले प्रदेश सरकारको समर्थन फिर्ता लिएको थियो । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिएका थिए ।
नेता रावलले दुई दलीय हस्ताक्षरबाट निर्मित सरकार भएको स्मरण गराउदै नाउपा कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठनको पहलकदमी लिएपछि मात्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारमा सहभागी भएको बताए ।
उनले सरकारलाई स्थायित्व प्रदान गर्न र राष्ट्रिय तथा प्रादेशिक सहमतिको सरकार गठन गर्न अधिकाधिक दलहरुलाई मिलाएर ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा एमाले लागि परेको स्मरण गराए ।
उनले सुदूरपश्चिमको विकास र समृद्धिका लागि रुपान्तरणकारी आयोजनाहरु जस्तै पञ्चेश्वर बहूउद्देश्यीय आयोजना, पश्चिम सेती, एसआर ६, देवाटवी पर्यटकीय सर्कीट निर्माण, संचालन र प्रबद्र्धन गर्न, कृषि क्षेत्रको विकास, औद्योगिक क्षेत्रको प्रबद्र्धनका लागि गरिने लगानी सम्मेलनलाई सफल पार्न आह्वान पनि गरे ।
स्वास्थ्य क्षेत्रमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना, राजधानीका पूर्वाधार निर्माण लगायत प्रादेशिक बहू आयामिक गरिबी उन्मुलन, बसाइसराइँ नियन्त्रण, युवा रोजगारीका अवसरहरु सृजना गर्न र सामाजिक समावेशीता सहितको समृद्ध सुदूरपश्चिम निर्माणका लागि स्थिर सरकार आवश्यक रहेको उनको जिकिर थियो ।