Skip to main content

‘ड्रग्स’ भीत्र डुबेकाहरु निकाल्न गाह्रो छ : डिआईजी बोहरा

Submitted by editor on
डिआईजी भरत बहादुर बोहरा

डिआईजी भरत बहादुर बोहरा २०७९ सालको चैत १६ गते सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा आएका हुन । उनको सरुवा भईसकेको छ । उनको कार्यकालको झण्डै १० महिनामा लागुपदार्थका कारोबारी र सेवनकर्ता गरी ७५६ जना पक्राउ परेका छन । प्रदेश छोडन अघि लागुपदार्थ कारोबार र सेवनको अवस्था बारे प्रधानसम्पादक शिवराज भट्टले उहाँसँग गरेको कुराकानी ...

हरेक दिन दुई÷चार जना युवाहरु ब्राउन सुगर सहित पक्राउ परिरहेका छन। यो कस्तो संकेत हो ?
–हेर्नुस, मेरो सरुवा पनि समय अगावै भयो । मैले आउने वित्तिकै देखि सुदूरपश्चिमका सीमा क्षेत्रमा भईरहेको लागुपदार्थको तस्करी र चोरी पैठारीमा बढी ध्यान दिए । चोरी पैठारी भन्दा ‘ड्रग्स’ धन्दा भयावह छ । भारतको हरेक सानो भन्दा सानो शहरमा ब्राउन सुगरका कारोबारी बसेका छन । नेपाली युवाहरुको भीत्रभीत्र लागुपदार्थको आगो सल्कि सकेको छ । युवा पिढि नै नसामा भयो भने देशमा समृद्धीक कसरी आउछ ? त्यसैले मैले लागु पदार्थका मुद्धामा ‘जिरो टोलरेन्स’ को नीति लिएको थिए ।

लागुपदार्थ ओसारपसारको तथ्यांक हेर्ने हो भने ३० वर्ष उमेरमुनीका मात्रै ९० प्रतिसत युवाहरु पक्राउ परेका छन । यो किन भईरहेको छ ?
–मैले भने नी, नेपाली युवाहरु भीत्र ‘ड्रग्स’ को जालो पसिसकेका छ । तपाईले सुन्नु भयो होला, गुप्तांगमा बाँधेर ल्याउदा पक्राउ परेका छन । मोटरसाईकलको सिसा भीत्र ल्याईरहेका छन । यसमा दुई वटा कुरा छ । पहिलो के भने धेरै युवाहरुलाई ढुवानीमा प्रयोग गरिएको छ । यो जालो भारतीय सीमा शहरहरु देखि नेपाली सीमा शहर सम्म छ । उनीहरु एक ग्रामको ढुवानी २ हजार देखि ३ हजार सम्म पाउछन । उनीहरुको काम भनेको भारतीय शहरबाट ल्याएर नेपालको गिरोहलाई बुझाई दिने । अर्को छ प्रयोगकर्ता । लतमा परिसकेको छन, पारी जान्छन, खाएर पनि आउछन । त्यो खाए बाफतको रकम असुल गर्न किनेर नेपाली युवाहरुलाई विक्रि गर्ने गर्छन । त्यसैले यसको जालो भारतमा छ, जबसम्म भारतमा रहेका गिरोहका नाईकेहरुलाई पक्राउ गर्न सकिदैन, तबसम्म नेपालमा पनि यो नियन्त्रण गर्न गाह्रो छ ।

सीमापारीको प्रहरीसँग यस बारे कुरा हुदैन ?
–हुन्छ नी किन हुदैन । हामीले सीमा शहरहरुमा ब्राउन सुगरको कारोबार गर्ने १३ जनाको नाम, ठेगाना र फोन नम्बर समेत भारतीय प्रहरीलाई उपलब्ध गराएका छौं । तर अहिलेसम्म एक जना पनि पक्राउ गरेको खबर आएको छैन । उनीहरुको देशमा ब्राउन सुगर युवाहरुलाई विक्रि गरिदैन । त्यो बिक्रि हुने भनेको नेपाली युवाहरुलाई मात्र हो । हामीले भजनी, बनगवाँ, बसै, पलिया र रामपुर क्षेत्रमा ब्राउन सुगरको कारोबार गर्नेहरुको नामवली नै भारतीय काउन्टरपार्टलाई दिएका छौं, तर उनीहरु माथि अहिलेसम्म कुनै कारवाही भएको खबर आएको छैन ।

ती कारोबारीहरुको विस्तृत विवरण कसरी थाहा भयो त ?
–नेपालमा पक्राउ परेका भारतीयहरु बाट नी । नेपालीहरुलाई पनि थाहा छ, बनगवाँमा को को ले ब्राउनसुगर बिक्रि गर्छ भनेर । पक्राउ परेपछि सोधपुछ गर्दा बताई हाल्छन नी । हामीसँग सबैका फोटोहरु पनि छन । उनीहरुको घर देखि पसलको विस्तृत जानकारी पनि छ तर के गर्नु ? उनीहरु अर्को देशमा बस्छन । हामीले उनीहरुको देशमा गएर केही गर्न सक्दैनौं । 

ब्राउनसुगरका भारतीय कारोबारी पनि पक्राउ परेका छन ?
– १८ जना त कैलाली कारागारमा मात्रै छन । उनीहरु ब्राउनसुगर सहित पक्राउ परेका हुन । उनीहरु माथि लागुपदार्थ विक्रि वितरणका मुद्धाहरु चलिरहेका छन । तर ठुला कारोबारीहरु नेपाल तर्फ आउदैनन । हाम्रो लागुपदार्थ नियन्त्रण ब्युरोले ग्राहक बनेर उनीहरुलाई १० औं लाखको पनि किन्छौं, नेपालपट्टी आउनु भनेपनि उनीहरु आएका छैनन । तपाईलाई अर्को कुरा सुनाउछ, नेपालमा ब्राउनसुगरको कारोबार गर्ने एकजना गिरोहको नाईके पक्राउ प¥यो । उसले भारतीय कारोबारीलाई १० लाख नेपाली दिनुपर्ने रहेछ, उसलाई समात्न हामीले १० लाख लैजान आउ भनेर भन्दा पनि उसले पछि लिउला तर नेपाल आउन्न भन्यो । भनेपछि उनीहरु नेपाल कुनै पनि हालतमा आउन चाहदैनन ।

ब्राउन सुगरको एक ग्रामको कति रकममा कारोबार हुदो रहेछ ?
–हाम्रो अनुसन्धानबाट खुलेको कुरा के हो भने कम्तीमा पनि २० देखि ३० हजार । उनीहरु मिलिग्रामको डोज बनाउछ । त्यो डोज भनेको २ हजार देखि ३ हजारमा विक्रि हुन्छ । एक ग्रामका २० डोज मात्रै बनायो भनेपनि ४० हजार भन्दा बढी परेन त ? उनीहरुको डोजको मुल्य फरक फरक छ । अभाव भएका बेला ४ हजारमा पनि एक डोज किन्ने । कहिले २ हजारमा पनि उपलब्ध भईहाल्ने रहेछ ।

प्रहरीले ग्राम समातेको कमै छ, मिलिग्राम मात्रै समाउछ । मिलिग्राम भनेको थोरै होईन ? 
–ब्राउन सुगर एक ग्राम भनेको पनि धेरै हो । २०÷३० पटक सेवनका लागि हुने मात्रा हो एक ग्राम भनेको । ८ सय जना पक्राउ गर्दा साढे ८ सय ग्राम मात्रै पक्राउ परेको छ । यो चरेशको जस्तो किलोमा हुदैन, ग्राममा ने यसको कारोबार हुन्छ । कसैको शरिरमा मिलिग्रामको तौलमा रहेको लागुपदार्थ समात्नु भनेको पनि चुनौती होईन । यस्तो जाडोमा धेरै लुगा लगाएका बेला कसरी पत्ता लगाउने ? चुनौतीपूर्ण होईन ? नेपाल प्रहरीको टीमले राम्रो काम गरेको छ ।

कारोबारी भारतमा छन, उनीहरु पक्राउ गर्न कठिन छ । भनेपछि यो नियन्त्रण कसरी गर्न सकिन्छ त ?
–यसका लागि संघ सरकार र प्रदेश सरकारले आफ्ना समकक्षीहरुलाई यसको जालोका बारेका पहलकदमी उठाउनुपर्छ । यो तल्लो लेबलबाट नियन्त्रण गर्न सकिदैन । यसमा सरकारहरु सचेत हुनुपर्छ । अर्को कुरा म अभिभावकहरुलाई पनि भन्न चाहन्छु की आफ्नो युवा पुस्ताको सन्तानको गतिविधि बुझिराख्नु प¥यो । उसको संगत, उसले लागुपदार्थ सेवन गरे नगरेको हेर्ने गर्नुप¥यो । नेपाल प्रहरीले पछिल्लो समय विद्यालयहरुमा गएर यसका बारेमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । अब हामीले हाम्रो समाजलाई चेतनशील बनाएर मात्रै जोगिने हो ।