Skip to main content

तीन दिनदेखि सुदूरपश्चिममा लगातार वर्षा

Submitted by editor on
ईबिगुल संवाददाता
mausam

धनगढी : सुदूरपश्चिम प्रदेशमा ३ दिनदेखि लगातार वर्षा भइरहेको छ। मनसुन सुरु भएको लामो समयपछिको लगातारको झरीले बर्षेबालीमा जुटेका किसानलाई राहत पुगेको छ।

कृषि ज्ञान केन्द्र कैलालीका सहायक कृषिप्रसार अधिकृत मदनराज जोशीका अनुसार ढिलै भए पनि यतिबेलाको बर्षाले किसानहरुलाई राहत भएको छ। खासगरी धान, मकै, कोदो र उखु लगायतका बर्षेबालीलाई ढिलो गरी पानी परे पनि राहत मिलेको छ। उनले यस वर्ष छिटो धान रोपाइँ सुरु भएको अवस्थामा निरन्तर पानी नपर्दा किसानहरु बर्षेबाली प्रभावित हुने चिन्तामा रहेको बताए। उनले भने, ‘यही गतिले निरन्तर वर्षा भएमा धानबालीलाई राम्रो हुने सम्भावना बढेको छ।’

यसैबीच कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार आगामी केही दिनहरुमासमेत तत्काल भारी वर्षाको सम्भावना नभए पनि न्युनचापीय रेखा सरदर स्थानमै रहेकोले हल्का र मध्यम वर्षा भइरहने छ। ‘मध्यम वर्षाले किसानहरुका लागि थप राहत हुनेछ,’ उनले भने। उनका अनुसार सुदूरपश्चिमका तराई तथा पहाडी सबै जिल्लामा पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाको रेकर्डअनुसार यो वर्ष मनसुन नेपालमा केही छिटो जेठ १५ गते नै भित्रिएको हो। कमजोर प्रणालीका कारण जेठ १५ मा भित्रिएको मनसुन फैलिन नपाउँदै डाइभर्ट भएको थियो। दोस्रो चरणमा जेठ २९ गते मनसुन भित्रियो। असार ६ देशैभरि मनसुन फैलिएपछि वर्षा सुरु भएको हो।

यसबर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने आकलन गरिएको भए पनि असारदेखि साउनको दोस्रो सातासम्म फाटफुट मात्रै वर्षा भएकाले किसानहरु बर्षेबाली प्रभावित हुने चिन्तामा डुबेका हुन्। यतिबेला देशैभरि लगातार वर्षा भइरहेकाले पूर्वी तराई क्षेत्रमा पानी नपरेर रुकेको धान रोपाइँसमेत अहिले भइरहेको उनले बताए।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार यसपटकको लगातार वर्षाले कैलाली तथा कञ्चनपुरका केही नदीहरुको सतह सतर्कता पार तह गर्ने अवस्थामा पुगेको छ। यद्यपि बुधबार दिउँसोदेखि झरी कम हुन थालेपछि केही नदीको सतह घटदै गएको छ। महाकाली नदीको सतह बुधबार बिहान ६ दशमलव ३५ मिटर पुगेको थियो। महाकालीको सतर्कता तह ६ दशमलव ८ मिटर रहेको छ। महाकालीमा पानी घटने क्रममा छ।

यसैगरी कैलालीको चुरे क्षेत्रबाट उत्पत्ति भएर जिल्लाको दक्षिणपूर्वी भेगमा बग्ने पथरैया नदीको सतह ४ दशमलव ४४ मिटर पुगेको थियो। जबकि नदीको सतर्कता सतह ४ दशमलव ५० मिटर हो। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा सबैभन्दा बढी पानी चुरे गाउँपालिकाको गर्भा दरबार क्षेत्रमा १३३ दशमलव ४ मिलिमिटर थियो। धनगढी र अत्तरियामा ६२ दशमलव ६ र कञ्चनपुरको दोधारा चाँदनीमा ९२ दशमलव ८ मिलिमिटर पानी परेको थियो।