Skip to main content

हिउँ नै नपरि सकिने भयो यसपालीको जाडो

Submitted by editor on
तीन महिनादेखि भएन वर्षा
ईबिगुल संवाददाता
जल तथा मौसम

धनगढी : मौसमविद्हरुले यस वर्षको हिउँदयाममा गत वर्षको तुलनामा धेरै वर्षा हुने पूर्वानुमान गरेका थिए । तर मौसमविद्हरुलाई नै आफुहरुको प्रक्षेपण झुटो हुने हो की भन्ने पीर लाग्न थालेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोबरको दोस्रो सातादेखि नेपालमा ठूलो पानी नै परेको छैन । ‘नोभेम्बर र डिसेम्बरमा पनि खासै धेरै पानी परेको छैन । डिसेम्बर पहिलो साता पश्चिमतिर एकदुई ठाउँमा हल्का पानी परेको थियो’ मौसमविद् सुदर्शन हुमागाईं भन्छन । ‘औसतमा हेर्ने हो भने चार मिलिमिटर जति पानी परेको छ होला ।’

मौसमविद् हुमागाईंका अनुसार करिब तीन महिनादेखि नेपालमा पानी परेको छैन । पश्चिमी वायु स्ट्रङ (बलियो) नहुँदा पानी नपरेको उनको भनाइ छ । ‘मनसुनदेखि बाहेकका अन्य सिजनमा नेपालमा पश्चिमी वायुको प्रभाव रहन्छ । नेपालमा हिउँदमा पानी पर्दा बंगालको खाडीबाट पश्चिमी जलवास्पयुक्त वायु आउनुपर्छ’ मौसमविद् हुमागाईं भन्छन । ‘त्यसरी पानी पर्दा पनि पश्चिमी पहाडी भेगमा पानी परेर पूर्वतर्फ आउँदा सुक्खा भइसकेको हुन्छ ।’ 

उनका अनुसार यो वर्ष उल्लेख्य रूपमा पश्चिमी वायुको ठूलो प्रणाली विकास भएको छैन । उच्च पहाडी क्षेत्रमा भने केही हिमपात भएको उनी बताउँछन् । तर विभागसँग हिमाली क्षेत्रमा कति हिमपात र वर्षा भयो भनेर मापन गर्ने प्रणाली नभएका कारण त्यसको रेकर्ड नहुने उनको भनाइ छ । 

हिउँदयाममा सामान्यतया वर्षभरी पर्ने पानीको औसतमा ३ देखि ४ प्रतिशत वर्षा हुन्छ । ‘हिउँद आफैँमा सुक्खायाम हो । त्यसमा पनि सन् २०२३ तातो वर्ष भयो । ०२४ पनि तातो वर्ष नै हुन्छ’ मौसमविद् हुमागाईं भन्छन । ‘तर जनवरी र फरवरीमा पनि दुई÷तीनपटक ठूलो पानी प¥यो भने विभागको पूर्वानुमान मिल्छ ।’

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी र कर्णाली प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी, कर्णाली प्रदेशको दक्षिणी, लुम्बिनी प्रदेशको पूर्वीबाहेकका भू–भाग, गण्डकी, वाग्मती प्रदेशका उत्तर–पश्चिमी र कोसी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशको पश्चिमी, लुम्बिनी प्रदेशको पूर्वी, वाग्मती प्रदेशका मध्य तथा दक्षिणी, मधेस प्रदेशको पश्चिमी र कोसी प्रदेशको उत्तर–पश्चिमी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको पूर्वानुमान छ ।

यसैबीच, बदली हुन सुरु भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । ‘बदली हुनेक्रम सुरु भएको देखिएको छ । त्यसैले आइतबार उच्च पहाडी क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिएको छ’ उनले भने ।