Skip to main content

आज २६औं भूकम्प सुरक्षा दिवस, देशैभरी मनाईदै

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
भूकम्प

काठमाडौं : आज २६औं भूकम्प सुरक्षा दिवस, देशैभरी भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर मनाईदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको हो ।

चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । 

यसैगरी विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी आठ हजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।