Skip to main content

सर्पदंश उपचार केन्द्र नहुँदा गयो बालकको ज्यान

Submitted by editor on
ईबिगुल संवाददाता
child

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ मा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीय सुवास विकको सर्पदंशका कारण मृत्यु भएको हो । गत भदौ १३ गते राति करिब साढे १० बजेतिर आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको थियो ।

परिवारका अनुसार उनलाई करेत सर्पले दाहिने हातको औँलामा डसेको थियो । घटना लगत्तै उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । त्यहाँ एन्टिस्नेक भेनम दिइए पनि भेन्टिलेटरको अभाव रहेको भन्दै अस्पतालले नेपालगन्ज रिफर ग¥यो । परिवारजनले उनलाई कोहलपुर मेडिकल कलेज लगे पनि त्यहाँ भेन्टिलेटर खाली नभएको बताइएको थियो । त्यसपछि भेरी अस्पताल र अन्य निजी अस्पतालमा पनि भेन्टिलेटर नपाएपछि एक न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

भोलिपल्ट दिउँसो ३ बजेतिर भेरी अस्पतालमा सारिएका सुवासको उपचारकै क्रममा ज्यान गएको हो । पीडित परिवारले समयमै उपचार नपाउँदा र अस्पतालहरूको लापरबाहीका कारण सुवासको ज्यान गएको आरोप लगाएका छन् । लम्कीचुहामै सर्पदंशको उपचार हुने व्यवस्था भएको भए १०–१५ मिनेटमै उपचार सम्भव हुने र बालकको ज्यान बच्ने स्थानीयको भनाइ छ ।

लम्कीमै भएको भए त अहिले बाँच्थ्यो नि त, उनका आफन्तले भने, यहाँबाट लम्की जान १०–१५ मिनेटको बाटो हो । छिमेकी पालिका बर्दगोरियामा स्थापना भएको अस्पतालले सर्पदंशको उपचार सुरु गरिसकेको भए पनि लम्कीचुहामा यो सुविधा नहुँदा यस्तो दुखद घटना घटेको स्थानीयले बताएका छन् । सुवास परिवारका एक्ला छोरा थिए । उनको निधनले परिवार शोकमा डुबेको छ । बुवा, म पानीपुरी खान जान्छु, घटना भएको दिन दिउँसो ४ बजेतिर बुवासँग भएको अन्तिम कुराकानी सम्झँदै सुवासका बुवाका असहाय पिडामा छन् । नजिकै सर्पदंश उपचार केन्द्र भए, छोरालाई बचाउन सकिन्थ्यो, उनले भने । 

कैलालीमा धनगढी र टीकापुरमा मात्र सर्पदंश केन्द्र रहेको छ । त्यो पनि व्यवस्थित नभएको वेला वेला गुनासो आउने गरेको छ । सर्पदंशका बिरामीले समयमै उपचार नपाउदैँ बर्षेनी नागरिकहरुको ज्यान जाने गरेको छ । राज्यको त्यसतर्फ ध्यान जान सकेको छैन । तराईमा अत्याधिक सर्प हुने हुँदा बर्षेनी यसको टोकाईबाट मृत्यु भएकै हुन्छ । स्थानीय सरकारले समेत यसमा सर्पदंश केन्द्रमा लगानी गर्न आवश्यक देखिएको छ