Skip to main content

प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ युगाण्डा प्रस्थान

Submitted by editor on
शुक्रबार र शनिबार हुने असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुने
एजेन्सीहरुको सहयोगमा
पुष्पकमल दाहाल

काठमाण्डौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डा प्रस्थान गरेका छन् । शुक्रबार र शनिबार हुने असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्।

प्रधानमन्त्री प्रचण्डले भ्रमण नेपालका लागि निकै महत्वपूर्ण रहेको दाबी गरेका छन् । ‘असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भई सम्बोधनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डाको कम्पाला प्रस्थान गरेको छु’ उनले भने । ‘नेपाल असंलग्न आन्दोलनका संस्थापक राष्ट्रहरूमध्ये एक हुनुको नाताले एवं नेपालको परराष्ट्र नीति असंलग्न सिद्धान्तमा आधारित भएकाले यो भ्रमण नेपालका लागि निकै महत्वपूर्ण छ ।’

उनले नेपालको राष्ट्रिय हित र साझा मुद्दाहरूको उठान एवं कार्यान्वयनका दृष्टिले रणनीतिक महत्वको हुने विश्वास व्यक्त गरे ।प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन उनी युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् । 

प्रधानमन्त्री दाहाल छोटो अवधिमा सबैभन्दा बढी समय विदेश जानेमा अग्रस्थानमा पर्छन् । एक वर्षको अवधिमा प्रधानमन्त्री दाहालले भारत, इटाली, अमेरिका, चीन र दुबईको भ्रमण गरिसकेका छन् ।