Skip to main content

शनिवारिय विषेश : खप्तड, धर्तीमा स्वर्गको टुक्रा

Submitted by editor on
यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरू रहेका छन् । यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ । यस निकुञ्जको करिब मध्य भागतिर १२ हजार फिट
प्रताप ओली
खप्तड

बझाङ : विक्रम सम्वत २०४२ मा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो । जतिबेला खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वती) तपस्या गर्न खप्तड पुगे । त्यसपछि खप्तडको प्रचार हुँदै गयो ।

विसं २००२ मा बझाङी राजा रामजङ्गबहादुर सिंहको अगुवाइमा खप्तडका जंगलमा खप्तड बाबासँगै स्थानीय तपस्या गर्न पुगेका थिए । पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए । त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो । देश–विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार–प्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो ।

खप्तड समुद्र सतहबाट २४ सय देखि ३७ सय मिटरको उचाइमा छ । दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटी पाईन्छ । कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर र संयौं प्रकारका चराचुरंगीहरु यस क्षेत्रमा अवलोकन गर्न पाईन्छ । 

निकुञ्जको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि अथवा वि.सं २०४७ साल देखि त्यहाँ नेपाली सेनाको ब्यारेक राखिएको छ । यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्दछ । यस निकुन्जमा सल्ला, खसुर र निगालोका जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् ।

यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरू रहेका छन् । यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ । यस निकुञ्जको करिब मध्य भागतिर १२ हजार फिट अग्लो खप्तड लेकमा ५० वर्ष खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ छ ।

सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ । यहाँका घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर मुख्य आकर्षण हुन् । 

प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएपनि भौतिक पूर्वाधार र प्रचार प्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको देखिँदैन । यातायात र उचित बास बस्ने व्यवस्था क्रमशः बढिरहेका बेला आन्तरिक र बाह्य पर्यटकहरु विस्तारै बढिरहेको खप्तड राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गोपाल घिमिरेले बताए । 

उनका अनुसार पहिले जेठदेखि कात्तिकसम्म मात्रै पर्यटक खप्तड पुग्ने गरेका भएपनि आजभोली जुनसुकै समयमा पनि पर्यटक खप्तड पुग्ने गरेका छन् । आर्थिक वर्ष २०७६÷७७ देखी आर्थिक वर्ष २०७८÷७९ सम्मको तथ्याङ्क अनुसार धार्मिक प्रयोजन भन्दा बाहेकका पर्यटकको संख्यामा वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय बाजुराका सूचना अधिकारी रेन्जर ज्ञानेन्द्र बहादुर शाहले बताए ।

सूचना अधिकारी शाहका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जम्मा ७ सय ४६ जनाले खप्तड भ्रमण गरेका थिए । आर्थिक वर्ष २०७७÷७८ मा १ हजार ६ सय ८८ जना, आर्थिक वर्ष २०७८÷७९ मा उक्त संख्या बढेर खप्तड भ्रमण गर्नेको संख्या २ हजार २ सय ९ जना पुगेको छ । 
पर्यटक वृद्धिका साथै आन्तरिक आयमा वृद्धि भइरहेको समेत सूचना अधिकारी शाहले जानकारी दिएका छन् । उनका अनुसार रोयल्टी, पर्यटन शुल्क, बन पैदावार बिक्री वितरण, दण्ड सजाए बापतको रकम बर्षेनी वृद्धि भइरहेको देखिन्छ । सूचना अधिकारी शाहले आर्थिक वर्ष २०७७÷७८ मा ६ लाख २२ हजार र आर्थिक वर्ष २०७८÷७९ मा ९ लाख २० हजार आम्दानी भएको बताए । 

पर्यटन ब्यवसायी दिपकबहादुर खड्का भन्छन, ‘खप्तडका लागि यो आम्दानी नगन्य हो । खप्तडमा आवतजावत गर्ने सडक र बस्ने बासको मात्रै ब्यवसथा भयो भने त्यहाँ थेग्न नसक्ने पर्यटकहरु आउन सक्छन ।’ सरकारले खप्तडको विकासका लागि ध्यान दिन नसकेको यस क्षेत्रका पर्यटन ब्यवसायीको गुनासो छ ।

चालु आर्थिक वर्षमा अहिलेसम्म १ हजार ६ सय ४ जना पर्यटकले खप्तड घुमिसकेका छन । निकुञ्जका रेन्जर तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर शाहले नेपालीलाई रु एक सय, शार्क मुलुकका नागरिकलाई ५ सय र अन्य देशका पर्यटकलाई १५ सय प्रवेश शुल्क तोकिएको बताए । खप्तड राष्ट्रिय निकुञ्ज पुग्नका लागि बझाङको खप्तडछान्ना गाउँपालिकाको मेल्तडी हुँदै लोखडाबाट वा डोटीको झिंग्रानाबाट जान सकिन्छ । 
खप्तड पुग्न कैलाली जिल्लाको अत्तरियाबाट डा. केआइसिंह राजमार्ग हुँदै डोटी झिग्रेना वा जयपृथ्वी राजमार्ग भएर तमैल हुँदै खप्तडछान्नाबाट जाँदा ७ देखि ८ घण्टामा खप्तड पुगिन्छ । विश्वका धेरैजसो मुलुकहरु पर्यटन व्यवसायबाट मजबुत अर्थतन्त्र बनाउन सफल भएको परिप्रेक्षमा खप्तड पनि एक पर्यटन व्यवसायका लागि उदाहरण बन्न सक्छ । 

खप्तड जान आकाश मार्ग र सडक मार्ग दुबै सुधार गर्न सकिने हो भने पर्यटकिय गतिविधि बढाउन सकिने पर्यटन व्यवसायी किशोर खड्काले बताए । उनका अनुसार अहिले धनगढी–बझाङ हप्तामा दुई दिन मात्रै हवाई उडान छ । नीजि क्षेत्रको समिट एयरले उडान गरे पनि यहाँको प्रचारप्रशार र होमस्टे, अत्याधुनिक होटेलको व्यवस्था हुन सकेको छैन ।

नेपाल बायुसेवाको सस्तो दरको दैनिक उडान भएमा र सडक यातायात पुर्वाधार भएमा खप्तडले सुदूरपश्चिमको अर्थतन्त्रमा सुधार ल्याउने उनको भनाई छ । खप्तड आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परे पनि आवागमनमा कठिनाई र बासको ब्यवस्थ नहुँदा नराम्रो प्रचार भईरहेको छ । 

खप्तड क्षेत्रमा जाँदा पर्यटकलाई खान बस्नलाई अलि समस्या रहेको झिग्रेनामा होमस्टे सञ्चाल गरिरहेका पर्यटन व्यवसायी दिपक खड्काले बताए । ‘सरकारले पर्यटकीय स्थलका बारेमा नारा ल्याउँदा राम्रा राम्रा ल्याउँछ तर व्यवहारमा लागू हुदैन’ खडकाले भने । 

सरकारले देशभरमा सयवटा गन्तव्य स्थल छानेको छ । त्यसभित्र खप्तड पनि पर्दछ । तर, त्यहाँ पुग्दा पर्यटकलाई के–कस्ता कुराको आवश्यक छ भन्ने सोंचेको पाइँदैन । सरकारले पर्यटन प्रवर्धन गर्ने कुनै पनि नीति ल्याउँदा व्यवसायीसँग पनि सल्लाह गरेर ल्याएमा त्यो फलदायी हुने थियो । तर अहिलेसम्म यस्तो गरिएको छैन ।’

खप्तड राष्ट्रिय निकुञ्जको नाम सुन्दा र हेर्दा खप्तड जति सुन्दर छ त्यस्तै व्यवस्थापकीय पक्ष साह्रै कमजोर रहेको सरोकारवाला र भ्रमण कर्ताहरू बताउँछन् ।