अछाम : ‘बाह्र बण्ड अठार खण्ड’ को नामले परिचित छ अछामको रामारोशन । ‘धर्तिको स्वर्ग’ कै नामले स्थानीय तहको नामाकरण गरिएको छ । रामारोसन पर्यटीकय क्षेत्र रामारोसन गाउपालिकाको वडा नम्ब–५ मा अवस्थित छ ।
रामारोशन क्षेत्र पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको एक महत्वपूर्ण प्रकृतिको वरदान हो । उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसे मैदान छन् । त्यसैले रामारोशनलाई ‘बाह्र बण्ड अठार खण्ड’ भनिएको हो ।
रातो, सेतो, गुलाबी रंगका गरी ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे पाईन्छ । त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको मन रामारोशनको मनमोहक दृश्यले लोभ्याउने गरेको छ ।
विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशनमा लोपोन्मुख वन्यजन्तुको समेत बासस्थान छ । यहाँ थुप्रै सुन्दर तालहरु छन् । जसले सबैको मन लोभ्याउँछ । करिब १० बिघा भन्दा बढी क्षेत्रफलमा मैदान र ३ वटा ताल फैलिएका छन् । एक दिनमा घुमेर सकिदैन रामारोशन क्षेत्र ।
यसको लागी करिब दुई दिन लाग्छ । एउटा मात्र ताल परिक्रममा गर्न घण्टौं लाग्छ । रामारोशन क्षेत्र पुग्ने जो कोहिको पनि एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ । नयाँ वर्षको समय रामारोसन घुम्नका लागि अनुकूल मानिन्छ । यहाँका बाटुल्ले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताल लगायतका तालले समेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन्।
यहाँ तालहरु मात्रै छैनन्, अग्ला अनि उत्तिकै आकर्षक मैदानहरु पनि छन् । बिभिन्न जिल्लाबाट साँफेबगर र मंगलसेनबाट कच्ची सडकमा जिपको यात्रा गरी त्यहाँ पुग्न सकिन्छ । वसन्त ऋतु र नयाँ वर्षमा रामारोशन घुम्न आउने पर्यटकलाई सन्तुलित वातावरण र अनुकूल मौसम पाइन्छ ।
साना ठूला ताल वरपरका मैदान मात्रै होइन, रामारोशको परिचय र पहिचान झल्काउनका लागि यहाँ अन्य थुप्रै प्राकृतिक स्रोत रहेका छन् । रामारोशन क्षेत्रभित्र लोपोन्मुख जंगली जनावरदेखि बहुमूल्य जडिबुटी पनि प्रशस्तै पाइन्छ । रामारोशन क्षेत्रमा घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटका लागि महत्वपूर्ण मानिन्छ ।
रामारोशन पर्यटनसंगै धार्मिक रुपले पनि उत्तिकै महत्वपुर्ण रहेका छ । त्यहाँका तालहरुलाई देबी मान्ने गरिन्छ । कैलाश खोलाको मुहान रामारोशन भएकाले पनि शिबको रुपमा मान्ने चलन रहेको छ । किनिमिनी पाटनलाई कृष्ण भगवान् स्वरुप मान्ने गरिएको स्थानीयको भनाई छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको रामारोशन क्षेत्रका ताल संरक्षणको अभावमा सुक्दै जान थालेका छन् । पछिल्लो समय तालको संरक्षण र रामारोशन क्षेत्रको विकासका लागि सबैको ध्यानाकर्षण भए पनि पर्याप्त लगानी नहुँदा यस्तो समस्या भएको हो ।
सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक अछामको रामारोशन यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । यहाँ सडकको पहुँच मात्र राम्रो हुने हो भने थुपै्र बाह्य पर्यटकहरुलाई भित्राउन सकिने स्थानीय पुष्प बिष्ट बताउछन् ।
उनी भन्छन, ‘भौतिक पुर्वाधारहरु खडा गर्न सके मात्र रामारोशनले देशकै अर्थतन्त्रमा ठुलो सहयोग पुग्छ, अहिले सडकको राम्रो पहुँच नहुँदा पनि पर्यटकहरुको आगमन भईरहेको छ, सडक राम्रो भए मात्र पनि यहाँ घुम्न आउनेको ओईरो लाग्छ ।’
यहाँका स्थानीयहरुले सानो सानो होमस्टे सञ्चालन गरेका छन् । पर्यटकहरुलाई खान बस्नका लागी समस्या नै छैन अहिले त । अर्गानिक खाना पाईन्छ । रामारोशनमा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न लागी थुपै बजेट आए पनि सहि सदुपयोग भने हुन नसकेको उनले बताए । पर्यटकीय क्षेत्रको नाममा कति बजेट आयो भन्ने एकिन विवरण कुनै पनि निकायसंँग नरहेको बिष्ट बताउछन् ।
विगत १५ वर्ष देखि गेष्ट हाउस सञ्चालन गर्दे आएका स्थानीय ईन्द्रबहादुर रोकायाले रामारोशनको नाममा आएको बजेट सहि ढंगले प्रयोग भएको भए यस ठाउँको कायापलट भईसक्ने बताए । ‘यो ठाउँको विकासका लागी आएको बजेट व्यक्ति बिषेशले ल्याए पनि आफ्नै गाउँको विकासका लागी हो भन्ने बुझ्न प¥यो, तब मात्र विकास हुने हो, यहाँका जनप्रतिनिधि, नेताहरु भाषण गर्दा रामारोशनलाई पर्यटकिय क्षेत्र बनाउन ज्यान दिएर लाग्छौ भन्छन् तर उनीहरु कार्यकर्ता पाल्नका लागी योजनाहरु हाल्ने, काम नगर्ने, काम नगर्नेलाई संरक्षण गरिरहने जस्ता व्यवहारले यो ठाउँ पछाडि परेको छ’ रोकाया भन्छन ।
२०८० को नयाँ वर्षको ३ दिनको अवधिमा मात्र ५५ हजार राजश्व संकलन भएको थियो । बैशाख १ गतेदेखि ३ गतेसम्म हजार भन्दा बढी पर्यटकहरुले रामारोशनको भ्रमण गरेको र ५५ हजार राजश्व संकलन भएको रामारोशन क्षेत्र पर्यटन विकास समितिकी कार्यकारी निर्देशक गंगा कँुवर बुढाले बताईन् ।
उनले भनिन्, ‘गाउँ, वडा, पालिका जिल्ला हुदै देश समृद्ध हुने हो, देशकै मुहार फेर्ने हो भने राज्यले यस्ता दुर दराजमा रहेका पर्यटकीय क्षेत्रहरु लगानी गर्नुपर्छ । एउटा पालिकाको बजेटले मात्र भ्याउदैन । यस क्षेत्रमा बजेटका लागी प्रदेश, संघ सरकारसंग धाएका धायै छौं। तर सुनुवाई हुदैन, कुराले मात्र देश बन्दैन, पिछडिएको क्षेत्रसम्म पनि सरकारको नजर पुग्नु पर्याे ।’