धनगढी : भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४)ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एकदिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेभएको छ ।
भिजनले यही फागुन ५ गते शनिबार धनगढीस्थित ओम प्यालेसमा निशुल्क रुपमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एकदिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न लागेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गर्न लागेको भिजन सेक्युरिटिजले जनाएको छ ।
कार्यक्रममा दोस्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु त्था अनलाइन कारोबारसम्वन्धी व्यवस्थालगायतका विषयमा जानकारी दिइने भिजन धनगढी शाखाकी माया जोशीले बताइन् ।
त्यसैगरी धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानहरुका साथै सेयर बजारमा हुने जोखिम तथा प्रतिफल, कम्पनीहरुको आधारभूत प्राविधिक विश्लेषणलगायतका बारेमा सहभागीलाई प्रशिक्षित गराइने जोशी जानकारी दिइन् ।
कार्यक्रममा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना र सेयरबजारबिज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टाराईले प्रशिक्षण दिने बताइएको छ । कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था रहेको र सेयरबजारमा कारोबार गरिरहेका र लाग्न रुची भएका सबैलाई सो प्रशिक्षण सहभागी हुन भिजनले आमन्त्रण गरेको छ ।