Skip to main content

त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालको शानदार जित

Submitted by editor on
ऐजन्सीहरुको सहयोगमा
त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालको शानदार जित

काठमाडौं : त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले जित पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । 

नेदरल्यान्ड्सले १२० रन बनाएपछि जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.२ ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। पौडेलले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । 

कुशल भुर्तेलले १ चौका र १ छक्कासहित १२ रन, आसिफ शेखले १ चौकासहित ८ रन, गुलसन झाले ३८ रनको योगदान गरे ।  झाले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ४ रन र कुशल मल्लले २ रनको योगदान गर्दै अविजित रहे । नेदरल्यान्ड्सका लागि भिभिएन किंग्माले पौडेल, भुर्तेल र शेखको विकेट लिएका हुन् । आर्यन दत्तले १ विकेट लिए । 

त्यसअगाडि नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । उनले १ छक्का र ४ चौका प्रहार गरे। त्यसैगरी टिम भान डर गुग्टेनले २४ रन, रोलफ भान डर मर्वले २३ रन, कप्तान स्कट एडवार्ड्सले १ छक्कासहित १८ रन, तेजा निदामानुरुले ५ रन, माइकल लेभिटले ४ रन, भिभिएन किंग्माले ४ रन, नोआ क्रोस ३ रनको योगदान गरे। 

नेपालका लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट, कुशल मल्ल र करण केसीले २÷२ विकेट, दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। मल्ल, जिसी र केसीले एउटै ओभरमा २÷२ विकेट लिएका थिए। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अंक तालिकामा नेपाल र नेदरल्याण्डस् समान ४÷४ अंक रहेको छ भने नामिबियाले २ अंकसहित पुच्छारमा छ ।