Skip to main content

एकीकृत समाजवादीलाई समेटेर सत्तारुढ दलहरुबीच लिखित सहमति

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
एकीकृत समाजवादीलाई समेटेर सत्तारुढ दलहरुबीच लिखित सहमति

काठमाडौं : नयाँ सत्ता गठबन्धन बनाउन स्वामित्व लिन नपाएको नेकपा एकीकृत समाजवादीलाई समेटेर सत्तारुढ दलहरुबीच लिखित सहमति भएको छ ।

मंगलबार बिहान बालुवाटारमा पाँच दलबीच ७ बुँदे सहमति भएको हो । यस अगाडि  गत सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच ८ बुँदे सहमति भएको थियो ।

गठबन्धनको अपनत्व लिन आफूले पनि पाउनुपर्ने माग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राखेपछि नेपालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बीच जनचाहना अनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकांक्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निम्नअनुसार निष्कर्षमा पुगेका छौं ।’

सहमति पत्रमा राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने भनिएको छ । तर यस अगाडि राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । उक्त स्थानमा उपाध्यक्षको विषय गायव पारिएको छ । सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने निर्णय भएकाले उक्त बुँदा हटाइएको छ ।

यी हुन् सहमतिका बुँदा 
१. राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सहभागितामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने ।

२. राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने । 

३. नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।

४. सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्गयाउने ।

५. सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।

६. देशका आर्थिक समस्याहरु सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।

७. हामी पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।