Skip to main content

गौरीगंगा गोल्डकपको उपाधीका लागि स्टार सिटी ब्वाइज र फारवेष्ट भीडने

Submitted by editor on
ईबिगुल संवाददाता
गौरीगंगा गोल्डकप

धनगढी : कैलालीको गौरीगंगामा भइरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० को उपाधिका लागि विहीबार स्टार सिटी ब्वाइज युनियन क्लब र फारवेष्ट पशुपति युवा क्लब भीडने भएका छन ।

गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भइरहेको प्रतियोगिताको विहीबार हुने उपाधि भिडन्तमा बाजी मार्ने दुबै टोलीले दाबी गरेका हुन् । बुधबार लिक्मा खेल मैदानमा आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा फाइनल पुगेका दुबै टोलीले उपाधि जित्ने दाबी गरेका हुन ।

लगातार दोस्रो पटक फाइनलमा पुगेको स्टार सिटी ब्वाइज युनियनका कप्तान कपिल ढकालले आफ्नो टीममा अनुभवी खेलाडीहरु रहेकोले उपाधि जित्ने बताए । उनले सबै खेलमा खेलाडीहरुले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरिरहेकोले फाइनलमा पनि शतप्रतिशत दिने र उपाधि जित्ने दाबी गरे ।

फारवेष्ट पशुपति युवा क्लबका कप्तान अमानत सेखले अधिकांश युवा र स्थानीय खेलाडीहरु टीममा रहेकोले उपाधि जित्ने बताए । उनले युवा खेलाडीहरुको प्रदर्शनले फाइनलसम्म पुगेको भन्दै उपाधि जित्ने दाबी गरे ।

प्रतियोगिताको फाइनल खेल बिहीबार लिक्मा खेल मैदानमा हुनेछ ।  कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुँदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । 

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन् ।