Skip to main content

बझाङमा आजबाट निर्वाचन आचारसंहीता लागु

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङ

बझाङ : उपनिर्वाचन हुने बझाङ र ईलाममा आजबाट आचारसंहीता लागुभएको भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको हो । 

आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गराइएको जानकारी दिए । पौडेलका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचारसंहिता लागू हुने निकाय, अधिकारी, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले आचारसंहिताको पालना गर्नुपर्नेछ । 

आयोगबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको रिक्त पद र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदमा संवत् २०८१ साल वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन प्रयोजनका लागि उप निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको छ ।’

आचारसंहिताको दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।

राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोग तथा निर्वाचन खर्च गर्दा आचारसंहिताको मापदण्डबमोजिम गर्नुपर्ने आयोगले जनाएको छ ।