Skip to main content

सुदूरपश्चिमको मुख्यमन्त्री कैलाश की घनश्याम ? प्रदेश प्रमुखको योजना यस्तो छ

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिमको मुख्यमन्त्री कैलाश की घनश्याम ? प्रदेश प्रमुखको योजना यस्तो छ

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आईतबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले फरकफरक दाबी पेश गरेका हुन ।

लक्ष्मण किशोर चौधरीलाई, सत्ता गठबन्धनकै घटक दल नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ । समाजवादीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारीले आफ्नो दलका ४ जनाको समर्थन रहेको भन्दै लक्ष्मण किशोरको दाबीमा हस्ताक्षर गरेका छन । 

लक्ष्मण किशोरलाई काँग्रेसका १८ जनाको समर्थन छ भनेर संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादुर शाह, ७ जना प्रदेश सभा सदस्यको सहमति छ भनेर नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले हस्ताक्षर गरेका छन । राप्रपाले पनि समर्थन गरेको छ  । 

तर नागरिक उन्मुक्ति पार्टीभीत्र ५ जना र २ जना गरी विभाजित देखिएका छन । लक्ष्मण किशोर चौधरी सहितका ५ जना रेशमतिर र कैलाश चौधरी सहितक २ जना मात्रै रञ्जीतातिर देखिएका छन । नागरिक उन्मुक्तिका दुबै जनाले आफ्ना ७ जना नै जोडेका छन । पदमुक्त गरिएकी ईन्द्रा गिरिलाई पनि सर्वोच्च अदालतले तत्काल नहटाउन आदेश दिएपछि उन्मुक्तिमा ७ जना प्रदेश सभा सदस्य कायम भएका छन ।

मुख्यमन्त्रीका लागि अर्को दाबी नागरिक उन्मुक्तिकै कैलाश चौधरीको परेको छ । उनले  आफ्नो पार्टीका ७, माओवादीका ११, नेकपा एमालेका १० र स्वतन्त्र १ जनाको समर्थन रहेको दाबी पेश गरेका छन । ५३ सदस्यीय प्रदेश सभामा  अहिले ५२ जना प्रदेश सभा सदस्य छन । बझाङका १ जना को निधन भएकाले प्रदेश सभामा अहिलेको बहुमत २७ जना हो ।

प्रदेश प्रमुख नजीर मियाँ समक्ष २ जनाको दाबी आएपछि उनले सोमबार भौतिक रुपमा उपस्थित हुनेगरी सनाखत गने तयारी गरेका छन । ‘भौतिक रुपमा सनाखत गरेर जसको पक्षमा बहुमत पुग्यो, उनलाई मुख्यमन्त्री नियुक्त गर्नेतयारी भएको छ’ प्रदेश प्रमुखको सचिवाललय स्रोतले भन्यो । 

नागरिक उन्मुक्तिमा देखिएको विवादले अध्यक्ष रञ्जीता पक्षधर कैलाश चौधरी र संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन । एकै पार्टीका दुई जना प्रदेश सभा सदस्यले फरक–फरक दाबी पेस गरेको भन्दै प्रदेश प्रमुखले आवश्यक कानूनी परामर्श पछि मात्रै मुख्यमन्त्री नियुक्त गर्छु भन्ने मौका पाएका छन ।

सांसद कैलाश चौधरीले नेकपा एकीकृत समाजवादीको समेत समर्थन प्राप्त हुने भन्दै दाबी पेस गरेको बताए । ‘नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थन मलाई छ । नेकपा समाजवादीको पनि समर्थन हुने भएपछि मुख्यमन्त्रीका लागि दाबी पेस गरिएको हो’ कैलाश चौधरीले भने ।

मुख्यमन्त्रीका लागि दुई जनाको दाबी पेस भएकाले कसलाई नियुक्त गर्ने विषयमा अन्यौल देखिएको छ । कानूनी परामर्शपछि दुबै पक्षलाई सनाखतका लागि बोलाएर बहुमत सिद्ध गर्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गरिने भएको छ । मङ्गलवार सनाखत गरेर मुख्यमन्त्री कसलाई नियुक्त गर्ने विषयमा निर्णय लिने मनसाय प्रदेश प्रमुखले बनाएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचीव शैलेश ढुङ्गानाले बताए ।