Skip to main content

एमाले सहमत भएपछि दीर्घ सोडारीले गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

Submitted by editor on
ईबिगुल संवाददाता
दीर्घ सोडारी

धनगढी : एमाले नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन सहमत भएपछि सोडारीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन ।

नेकपा माओवादीका ११, एमालेका १०, समाजवादीका ४, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी उनले ३३ प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी गरेका छन । यद्यपी रेशम पक्षका ५ जना उन्मुक्तिले भने मत हाल्ने नहाल्ने विश्वासको मतका बेला मात्रै थाहा हुनेछ । 

तर ५ जनाले मत नहालेपनि सोडारीको पक्षमा सभामुख बाहेक २७ जनाको समर्थन रहने छ । बहुमतका लागि २७ जना मै आवश्यक पर्छ । यसअघि एमाले पात्र परिवर्तन गर्नुपर्ने अडान राख्दै आएइको थियो । 

सोडारी विवादास्पद व्यक्ति भएको भन्दै एमालेले मुख्यमन्त्री बनाउन नसकिने बताउँदै आएको थियो । गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन बालकोटले ‘ग्रिन सिग्नल’ दिएको बताएका छन । ‘बालकोटले यसअघि उहाँ (सोडारी) को छबिको विषयमा प्रश्न उठाउनु भएको थियो । तर, उहाँलाई नै अघि सार्ने विषयमा बालकोट कन्भिन्स हुनुभएको छ,’ गठबन्धनका एक नेताले भने । 

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दोस्रोपटक दिएको समय आज ५ बजे सकिँदैछ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले निष्कर्ष ननिस्किएको भन्दै दोस्रोपटक सरकार गठनका लागि आह्वान गरेका थिए ।